अभिनेता दयाहाङ राईको अगाडि वा पछाडि कुनै उपनाम जोडिरहन आवश्यक छैन । उनको नाम आफैंमा ‘ब्राण्ड’ बनिसकेको छ । बच्चादेखि वृद्धसम्म फ्यान छन् उनका । जुनसुकै भूमिकामा आफूलाई फिट राख्न सक्षम छन् उनी । यसैले त दयाहाङले वर्षौदेखि नेपाली फिल्ममा आफ्नो उपस्थितिलाई रत्ति कमी हुन दिएका छैनन् ।

केही वर्ष अगाडिसम्म उनको टाउको पोष्टरमा राखेमात्र पनि सिनेमा घरमा दर्शकको भीड जम्मा हुन्थ्यो । पछिल्लो समय हप्तैपिच्छे हलमा उनका फिल्म लाग्दै आएका कारण उनीप्रति दर्शकमा चासो केही कम भएको देख्न सकिन्छ । तर, उनलाई रुचाउने दर्शक भने कम भएका छैनन् ।

उनै नायक दयाहाङ राई शनिवारबाट ३८ वर्षमा लागेका छन् । भोजपुरको पश्चिमी गाविस खावा वडा नं. ५ मा २०३७ साल बैशाख १ गते बुवा टिकाराम राई र आमा चन्द्रदेवी राईको कोखबाट जन्मिएका उनी एक छोराका पीता समेत हुन् । सन् २००६ मा उनले गायिका बेनुका राईसँग लगनगाँठो कसेका थिए ।

बाल्यकाल गाउँमै खेतीपाती र गाईबस्तु गोठालो गरेर विताएका उनले खावा गाविसको दिल प्राथामिक विद्यालय, पशुपति मावि हुँदै अन्नपूर्ण उच्च माध्यामिक विद्यालय भोजपुरमा एसएलसीसम्मको अध्ययन गरे । एसएलसीपछि भोजपुर बहुमुखी क्याम्पसमा आइए पढेका दयाहाङ राई यसपछि सिधै काठमाडौं हानिए ।

काठमाडौंमा पसेसँगै उनको संघर्षका दिन सुरु भए । काठमाडौंमा आफन्तसँग बस्ने हुँदा दयालाई साह्रै गाह्रो भने भएन तर कलाकारितामा आफूलाई अगाडि बढाउन भने उनले खुब पसिना बगाएका छन् । २०६० सालबाट कलाकारितासँग सम्बन्ध गाँसेका उनले २०६३ सालमा एक्टर स्टुडियोमा नाटकको काम सिक्न थाले ।

“युवा”, “हाम्रो टिम”, “दलन” जस्ता टेलिफिल्म सानोतिनो भूमिका निर्वाहा गरेर अभिनय यात्रामा आफ्नो पाइला अगाडि बढाएका दयाहाङले निर्देशक रामबाबु गुरुङको फिचर फिल्म “अनागरिक” मा काम गर्ने अवसर पाए ।

“मेरो एउटा साथी छ”, “दासढुङ्गा”, “आचार्य” जस्ता फिल्ममा काम गर्दासम्म उनी गुमनाम थिए । तर, २०६९ सालमा बनेको फिल्म “लुट” मा निर्वाहा गरेको “गोफ्ले” क्यारेक्टरले दयाहाङलाई स्टार बनायो । “लुट” उनको जीवनको टर्निङ प्वाइन्ट बन्न पुग्यो । यसपछि उनले आफ्नो करिअर कहिल्यै पछाडि फर्किएर हेर्नु नै परेन ।

उनी नेपालका महँगा नायकको लिस्टमा पर्दछन् । खबरअनुसार, फिल्म “भैरे” मा उनले १८ लाख पारिश्रमिक बुझेका छन् । वर्ष २०७४ मा “घामपानी”, “कान्छी”, “मिस्टर झोले” गरि तीन सफल फिल्म दिएका उनी अभिनीत नयाँ फिल्म “नेप्टे” यतिबेला प्रदर्शन भइरहेको छ । शुक्रवारबाट यो फिल्म हलमा लागेको हो ।

दयाहाङका सफल र असफल फिल्म 

दयाहाङ अभिनीत फिल्महरु सफलभन्दा बक्सअफिसमा लडेका नै धेरै छन् । तर सफल फिल्म दिने नायकमा लिस्टमा उनको नाम छुट्दैन । उनले “लुट”, लुट २”, कबड्डी”, ”कबड्डी कबड्डी”, ”झोले”, ”पुरानो डुङ्गा”, ”वडा नम्बर ६”, ”वीर विक्रम” जस्ता सफल फिल्म दिइसकेका छन् ।

“नागबेली”, “कर्कश”, “फन्को”, “छड्के”, “लोफर”, “तान्द्रो”, “सम्बोधन”, “लाल्टिन” जस्ता असफल फिल्म पनि उनको खातामा सूचीकृत छन् ।

उनले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार जितिसकेको “सेतो सूर्य” नामक फिल्ममा पनि काम गरिेका छन्, जुन ओस्कार अवार्डको लागि नेपालको तर्फबाट समेत छनौट भएको थियो ।

दीपकराज, कोमल र शिवहरीको पनि ‘बर्थ डे’ आज

हास्यकलाकार द्वय दीपकराज गिरी/शिवहरी पौडेल र गायिका, अभिनेत्री तथा नेतृ कोमल ओलीले पनि आज आफ्नो जन्मदिन मनाउँदैछन् । गिरी र पौडेल अभिनीत नयाँ फिल्म ‘शत्रु गते’ यतिबेला चौथो हप्तामा प्रदर्शन भइरहेको छ । दीपकराज अहिले ‘छक्का पञ्जा ३’ को तयारीमा छन् ।