काठमाडौँ/ नेपाली काँग्रेसको महाधिवेशन भएको दुई वर्ष पुरा भइसकेको छ । यसबीचमा सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने अवसर पाए, काँग्रेसले तीन वटा चुनावको सामना गरिसक्यो । तर, पदाधिकारी मनोयनतर्फ देउवाको कुनै ध्यान पुगेन ।

अहिले पदाधिकारी मनोनित गर्ने तयारी गरिरहँदा देउवा तनावमा परेका छन् । आकांक्षी धेरै हुँदा देउवा तनावमा परेका हुन् । एकातिर चुनावमा पार्टीले भोगेको पराजय, अर्काेतिर पदाधिकारी मनोनयनको लफडा । देउवा साँच्चै तनावमा परेका छन् ।

उपसभावितमा विमलेन्द्र निधीलाई मनोनित गर्ने सोचमा रहेका देउवालाई सहज नहुने भएको छ । काँग्रेस नेता गोपालमान श्रेष्ठले समेत उपसभापतिमा दाबी पेश गरेका छन् । उनले आफू पछि नहट्ने पनि बताइसकेका छन् ।

१५ वर्षअघि नै उपसभापति र कार्यवहाक सभापति भइसकेकाले अहिले उपसभापतिमा दाबी गर्नु स्वाभाविक भएको उनको तर्क छ । ‘देउवाजीलाई १५ वर्षअगाडि तत्कालीन राजा ज्ञानेन्द्रले जेल हाल्दा कार्यवहाक सभापतिका रूपमा पार्टी चलाएको थिएँ,’ श्रेष्ठले भने, ‘अहिले उपसभापतिमा दाबी नगर्ने कुरै भएन ।’

१३ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्दा देउवाले आफूलाई उपसभापति बनाउने आश्वासन दिएको श्रेष्ठको दाबी छ । ‘म सभापति भएपछि उपसभापति तपाईं हुने कुरामा शंकै नगर्नुस् भन्नुभएको थियो, उनले आफ्नो वचन पूरा गर्ने भन्ने विश्वास मलाई छ,’ श्रेष्ठले भने ।