काठमाडाै । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला प्रतिबन्धित भारु पाँच सय र हजारको नोट सटहीको विषयलाई नेपाली पक्षले नै औपचारिक रुपमा उठाउन नसक्दा सर्वसाधारण र बैंकहरुमा रहेको रकम यत्तिकै थन्किएको छ ।
प्रम ओलीको भारत भ्रमणका बेला करिब डेढ वर्षदेखि थाती रहेको भारु सटहीको विषयले निकास पाउने अपेक्षा गरिएको थियो । यसअघि भारत भ्रमणमा जानुअघि संसदलाई सम्बोधन गर्दै ओलीले भारु सटहीको विषय उठाउने दाबी पनि गरेका थिए । तर ओलीले प्रतिबद्धता अनुसार भारुको विषय उठाएनन् ।
प्रमको भ्रमणका बेलासमेत भारु सटहीको विषयले निकास नपाउँदा सरकारी प्रणालीमा रहेको करिब ५ करोड भारु प्रयोजनविहीन बनेको छ । जबकि प्रम ओलीको भारत भ्रमणअघि अर्थ मन्त्रालयले भारु नोटका सम्बन्धमा राष्ट्र बैंकबाट विवरण मागेको हुँदा भारुका सम्बन्धमा निकास निस्कने अपेक्षा गरिएको थियो ।