संखुवासभा । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले संखुवासभाको वानामा गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २ हजार २ सय बिरामी लाभान्वित भएका छन् । वाना नगरपालिका कार्यालयसँगको सहकार्यमा गरिएको शिविरबाट २ हजार १ सय ६२ जनाले निःशुल्क उपचार पाएका हुन् । स्थानीय वाना माध्यमिक बिद्यालयमा भएको शिविरमा छिमेकी जिल्ला तेह्रथुमका विरामी पनि उपचारका लागि आएका थिए । शिविरमा आँखा रोग, जनरल मेडिसिन, स्त्री रोग, दन्त रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी, छाला रोग लगायतको निःशुल्क उपचार गरिएको हो । शिविरमा हाडजोर्नी, दम, रुघाखोकी, आँखामा मासु पलाएको र आङ खस्ने समस्या भएका महिला बढी मात्रामा आएको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिएका छन् । आँखाको बाहिरी भागमा मासु पलाएका ११ जना विरामीको शिविरमै शल्यक्रिया गरिएको छ । नोबेलबाट बिषेशज्ञ डाक्टरहरुसहित २६ जनाको टोली शिविरमा गएको थियो । ईसीजी, ल्यावटेस्ट र भीडियो एक्सरे पनि निःशुल्क गरिएको छ । शिविरमा विरामीलाई औषधिसमेत निःशुल्क बितरण गरिएको आयोजकले जनाएको छ । नोबेल अस्पतालले पूर्वका बिभिन्न जिल्लामा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर हजारौं विरामीलाई निःशुल्क उपचार गर्दै आएको छ ।