विजयपुर । लामो समयदेखि अन्योलमा रहेको धरान–इटहरी सिमाना विवाद टुङ्ग्याउन धरान उपमहानगरपालिकाले पहल थालेको छ । धरान उपमहानगरपालिकाले बुधबार धरान र इटहरीको सिमानाको समस्या समाधान गर्न ‘अन्तर स्थानीय तह समझदारी बैठक’ राखेर सिमानाको विषयमा छलफल शुरु गरेको हो । यसअघि सिमानाको विवादका कारण नागरिकस्तरमा समेत विवाद शुरु भएको थियो । जनप्रतिनिधि नभएका कारण संवादविहीन बनेको सीमा समस्या सुल्झाउन अहिले संवाद शुरु भएको छ । धरानले छिमेकी स्थानीय तहहरुसँगको सिमाना यकिन गर्ने र भौतिक तथा सामाजिक विकासका क्षेत्रमा समन्वयसमेत गर्ने उद्देश्यले पहल शुरु गरेको धरान उपमहानगरपालिकाकी कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन् । समझदारी बैठकमा धरान उपमहानगरपालिकाकी कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारी सुवेदी, इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम, धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरे, इटहरी उपमहानगरपालिकाका वातावरण अधिकृत पुष्पनारायण चौधरीलगायतको उपस्थिति थियो । बैठकबाट धरान–इटहरीको सिमानाको अन्योल हटाउने सहमति भएको छ । स्थानीय सरकार सञ्चालन ऐनले समेत स्थानीय तहहरूले आपसी छलफलबाट सिमाना यकिन गर्न सक्ने व्यवस्था गरेको र दुवै नगरलाई प्रदेश तथा सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानसमेत क्षेत्रफलका आधारमा निर्धारण हुने भएकाले यस्ता विषयलाई समयमै टुङ्ग्याउनु आवश्यक भएकाले छलफल शुरु गरिएको कार्यवाहक नगरप्रमुख सुवेदीले बताइन् । सिमानाको टुङ्गो नलाग्दा वन जङ्गल, खोला तथा प्राकृतिक स्रोतसाधनको उपभोग र संरक्षणमासमेत समस्या भएको एवम् स्थानीय बासिन्दामा समेत अन्योलता कायम रहेकाले यो विषय टुङ्ग्याउन खोजिएको उनले बताइन् । नेपाल सरकारले गरेको सीमाङ्कन र जिआइएस अनुसार धरान उपमहानगरपालिकाको क्षेत्रफल १९२ दशमलव ५० वर्गकिलोमिटर रहेको छ । त्यसका आधारमा हेर्ने हो भने धरानको क्षेत्रफल कोशी राजमार्गको पश्चिमतर्फको साविकको हाँसपोसा गाविसको पानीपिया र पूर्वमा चारकोशे जङ्गलबीचको फायरलाइनसम्म देखिन्छ । समझदारी बैठकपछि प्रतिकृया दिँदै इटहरी उपमहानगरपालिकाका नगर प्रमुख चौधरीले सिमानाको अन्योलता हटाउन दुवै उपमहानगरपालिका सहमत भएको र यसलाई निरन्तर संवादका माध्यमबाट टुङ्ग्याउने सहमतिसमेत भएको बताए । सिमानासँगै धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकाबीच प्राकृतिक स्रोत साधनको प्रयोग र संरक्षण गर्ने तथा फोहोर व्यवस्थापनमा समेत समन्वय गरेर अगाडि बढ्ने सहमति भएको छ । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख गौतमले प्राकृतिक स्रोतको प्रयोग र संरक्षण तथा फोहोर व्यवस्थापनमा समेत आपसी समन्वय गर्ने सहमति भएको बताइन् । यसअघि धरान उपमहानगरपालिकाले वराहक्षेत्र नगरपालिकासँग सिमाना यकिन गर्न छलफल अगाडि बढाइसकेको छ । धरान उपमहानगरपालिकाले गत असार ४ गते वराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालसँग सिमाना र प्राकृतिक स्रोतसाधनको उपभोग र संरक्षणको विषयमा छलफल प्रारम्भ गरेको थियो ।

‘छिमेकी स्थानीय तहसँग निरन्तर सहकार्य गर्छौं’ : मञ्जु भण्डारी सुवेदी, कार्यवाहक नगरप्रमुख

हामीले धरान उपमहानगरपालिकाको सिमाना जोडिएका स्थानीय तहहरु इटहरी उपमहानगरपालिका, वराहक्षेत्र उपमहानगरपालिका, रामधुनी उपमहानगरपालिका, केराबारी गाउँपालिका र साँगुरीगढी गाउँपालिकासँग संवाद शुरु गरेका छौ । सिमानाका विषयमा भएका अन्यौलतालाई हटाएर छिमेकी स्थानीय तहहरूसँग विभिन्न क्षेत्रमा सहकार्य र समन्वय गर्ने हाम्रो सोच छ । अन्तर स्थानीय तहको सम्बन्धलाई सुमधुर राख्ने र भौतिक, आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा निरन्तर सहकार्य गर्ने हाम्रो नीति रहेको छ ।