बिर्तामोड / नेकपाका युवा नेता योगेश भट्टराईले चिकित्सा शिक्षा बिधेयक शुक्रबार संसदमा छलफल भएर पारित हुने बताएका छन् । व्यवस्थापिका संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्यसमेत रहेका भट्टराईले समितिले लामो छलफलपछि निर्माण गरेको प्रतिवेदन जनपक्षीय रहेकोसमेत दावी गरेका छन् ।
चिकित्सा शिक्षा बिधेयक संसदबाट पास नहोस भन्ने केही ब्यक्तिको चाहना छ, तर शुक्रबार त्यो पास भएर कार्यान्वयनका लागि जान्छ, भट्टराईले भने–‘कसैले अन्जानको भरमा बिरोध गरेको बहानामा त्यो रोकिनेवाला छैन ।’ पछिल्लो समयमा संसदमा पेस भएको बिधेयकका बारेमा डा. गोविन्द केसीले अध्ययन नगरेको उनले बताए ।
‘केही मान्छेहरु नेपालमा द्धन्दको खेती शुरु गर्न खोजिरहेका छन्, ती एजेन्टहरुले इलाममा डा. केसीलाई अनसन बसाएर राष्ट्रसंघको कार्यालय अघि गोरखाका गंगामाया अधिकारीको फोटो सुट गरिरहेका छन्,–भट्टराईले भने–‘अब गंगामायालाई युएनमा लगेर भाषण गर्न लगाए पनि फरक पर्ने वाला छैन ।’ गोरखाको फुजेल काण्डका अभियुक्तले सजाय पाइसकेको बताउँदै उनले गंगामायालाई बिमान चढाएर बिदेश घुम्न लैजान कसैले चाहेको हो भने त्यो उसको अधिकार भएको बताए ।
‘संसदको शिक्षा तथा स्वास्थ्य समितिले बिगतमा डाक्टर केसीसँग भएको सम्झौताको ९९ प्रतिशत समावेश गरेर छलफलका लागि बिधेयक दर्ता गरेको छ, भट्टराईले भने–‘बिधेयक अध्ययन नगरी इलाममा आएर सुटुक्क अनसन बस्दा हुन्छ ?’ उनले ब्यङ्ग्य गर्दै भने–‘इलाममा इन्टरनेट कमजोर रहेछ, केसीले बिधेयक पढ्न पाएका छैनन होला, अहिले प्रस्तुत गरेको बिधेयक डाउनलोड गरेर अध्ययन गर्न सुझाव दिन्छु ।’ भट्टराईले अहिले प्रस्तुत भएको बिधेयकमा सबैभन्दा धेरै केसीको भावना समावेश भएको दावी गरेका छन् ।
‘कसैको ब्यक्तिगत मागमा सदनमा सबैभन्दा धेरै छलफल भएको भनेको केसीको माग हो, नेपालको ईतिहाँसमा सदनमा यतिधेरै छलफल भएको बषिय यो मात्र हो, –‘भट्टराईले भने, यतिधेरै सम्मान दिंदा पनि कोकोहोलो मच्चाउने, रडाको गर्ने काम गर्नुपर्छ ?’ चिकित्सा शिक्षा बिश्वबिद्यालय स्थापना गर्ने माग पनि केसीको नै भएको उनले बताए ।
अहिलेको बिधेयकले नीजि मेडिकल कलेजहरु १० बर्षपछि ट्रष्टमा जानुपर्ने, काठमाण्डौभित्र आसयपत्र लिएका मेडिकल कलेजले संरचना सरकारलाई प्रदान गर्ने वा काठमाण्डौ बाहिर जान पाउने व्यवस्था रहेको छ । काठमाण्डौ बाहिरका आसयपत्र लिएर निर्माण भएका र मापदण्ड पुगेको संरचना निर्माण भएका मेडिकल कलेजलाई सम्बन्धन दिन सकिने बिधेयकमा उल्लेख छ । बिधेयकको यही ब्यवस्थामा असहमति राख्दै केसीले इलाममा १६ औं चरणको अनसन जारी राखेखा छन् । उनले मेडिकल क्षेत्र सुधारको मात्र नभएर द्धण्द्वकालिन मुद्दा र निर्मला पन्तको हत्यारालाई कारवाही गर्न नसकेको भन्दै अनसन शुरु गरेपछि बिगतको तुलनामा उनको आलोचना बढेको छ ।
‘चिकित्सा शिक्षा बिधेयकको काँधमा बन्दुक राखेर केसीले अन्तै पड्काउन खोजेको प्रष्ट भएको छ, भट्टराईले भने–‘१६ औं पटकको अनसनसम्म आइपुग्दा अन्टसन्ट माग राख्नु त्यसको प्रमाण हो ।’ केसीको माग ‘लुकिङ लण्डन । टकिङ टोकियो’ भनेजस्तो रहेको उनले बताए । केसीले काङग्रेसको एजेण्डा स्थापित गर्नका लागि मेडिकल शिक्षा सुधारको ढोङ गरेको आरोप भट्टराईले लगाए । ‘चारतारे झण्डा बोकेर भोट माग्न हिडेको त जनताले भुलेका छैनन नि, प्रश्न गर्दै भट्टराईले भने–‘अब उहाँ तटस्थ मान्छे होइन भन्ने प्रष्ट भइसकेको छ ।’
‘केसीको मागमा हुबहु सहमति गर्ने हो भने आगामी १५ बर्ष मुलुकमा कुनै मेडिकल कलेजहरु खुल्न सक्दैनन, नेपालको एउटा लगानीकर्ताले मेडिकल कलेज खोलेर नेपाली बिद्यार्थीलाई यही पढाउनुको बिकल्पमा बिदेश पठाउने कुरा ठिक होइन, भट्टराईले भने–‘भारतका अस्पताल नेपाली बिरामीले चलेका छन्, यही ठुला अस्पताल र मेडिकल कलेज खोल्छु भनदा निरुत्साहित किन गर्नु ?’ उनले बिद्यार्थीलाई बिदेश पठाएर कमिशन खाने एजेन्टले केसीलाई प्रयोग गरेको आरोप लगाए ।
केसीलाई उचाल्ने काङग्रेसले बिगत सम्झेर पश्चाताप गर्नुपर्ने उनले बताए । बिगतमा सरकारी उद्योगधन्दा मासेर नीजिकरण गर्ने काङग्रेसले निजी मेडिकल कलेजलाई सम्बन्धन दिन रोक्न लाज हुनुपर्ने धारणा उनले राखे । २२ वटा राष्ट्रिय उद्योगहरु काङग्रेसले बेचेर खाएको सुनाउँदै उनले निष्ठाको राजनीति गर्न सुझाव दिए ।
केसीको हठका अगाडी संसद नझुक्ने चेतावनी दिदै भट्टराईले सरकार हट्नुपर्ने जति पछि हटिसकेको बताए । केसीसँग वार्तागर्नुपर्ने कुनै कारण नभएको समेत भट्टराईले बताए । यद्यपी केसीको ‘फेस सेभिङ’ का लागि वार्ता गर्न सकिने धारणा उनले राखे । उनले केसीको जीवनरक्षा सरकारले गर्ने समेत बताए । डा केसी ९ दिनदेखि इलाममा अनसनरत रहेका छन् ।