कार्यक्रम उद्घाटन गर्ने उद्घोष भयो । अतिथिदीर्घाका सबै उठे । तब हतार–हतार गरी सेरामिक प्रशिक्षक कवि प्रजापति आए र माटो खेलाउन थाले । ‘ह्विल’ अर्थात् ‘चक्र’ माथि नै राखिएको मुछिएको माटो खेलाएर ह्विलमा राखे । विजुली जोडेर ह्विल घुमाए । माटोको ढिस्कोलाई अलि निचोरेर आकार दिन थाले । अतिथिदीर्घा के गरिँदैछ भन्ने अल्मलमा थियो । ह्विल आफूहरूले घुमाएर कार्यक्रम उद्घाटन गरेर बस्ने होला भन्ने सोचाइ पनि फेल खायो । दर्शकदीर्घा पनि उस्तै अल्मलमा ।
 
ह्विल घुमाएर माटोको आकार दिन लाग्दा २ मिनेट समय गइसकेको थियो । अतिथिहरू उभिएको उभियै भएर उद्घाटन बारे अन्यौलतासहित माटोको आकृतिमै नियालिरहेका थिए । अन्ततः माटोले पानसको आकृति लियो । पानसको माथिल्लो भाग तयार भयो, तब कविले त्यहाँ तेल हाले । अनि कुरो बुझेर सबैको अनुहार हँसिलो मात्र भएन, मन्द–मन्द हाँसो नै गुञ्जियो । उत्सुकता खुशीमा परिणत भयो । अनि त्यहाँ बाती पनि राखिएपछि प्रमुख अतिथिका रूपमा रहेकी पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले हाँस्दै सलाई कोरेर बाती बालिन् । तब कार्यक्रम उद्घाटनमा परिणत भयो ।
 
०७५ फागुनको १७ गते दिउँसो पूर्वमा सृजना क्षेत्रमा सक्रिय एभरेष्ट आर्ट फ्युजनले सञ्चालन गरेको माटाका सजावटका तथा दैनिक उपभोग्य सामग्री निर्माण गर्ने १ महिने निःशुल्क ‘ह्विल थ्रोइङ सेरामिक तालिम’ उद्घाटन्को सन्दर्भ हो यो । यो उद्घाटनले कलालाई व्यवहार र जीवनसँग जोडेको सबैलाई अनुभूति भयो । बास्तोला कार्यक्रमको कलात्मक अनि व्यवहारिक शैलीप्रति नतमस्तक बनिन् ।
 
एभरेष्ट र त्यसकी संस्थापक अध्यक्ष एवम् भर्खरै नियुक्त नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य प्रसिद्ध चित्रकार सरोजा खड्गीले नगरलाई नेपालमै चिनाएको प्रसङ्ग जोड्दै उनले खुशी मिसाइन् । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख लालकाजी लामा, पथरीशनिश्चरे–२ नम्बर वडाध्यक्ष यामप्रसाद गुरागाईंले एभरेष्टको गतिविधिले युवा पुस्तालाई सृजनशील बनाउँदै लगेको कुरा उद्घाटनशैलीबाट स्वतः प्रष्टिएको विचार राखे ।
 
घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र काठमाडौंको सहयोगमा सञ्चालनमा तालिमको योजना बन्यो । काठमाडौंबाट आएका कवि प्रजापति र समशेर प्रजापतिले सहजीकरण गर्ने तालिममा प्रत्येक वडाबाट ३–३ जनाका दरले ३० जना राख्ने प्रचार–प्रसारबाट सहभागिता जुटाइयो । भर्खरै अध्यक्ष बनेका नवयुवा पुस्ताका षडानन्द सुवेदी निश्चल संस्थाको सृजनशीलतालाई चुल्याउन युवा उत्साह समेट्दै थिए । नयाँ नै रहेका सचिव भूमिप्रसाद पाठक पनि कार्यक्रमको तारतम्य मिलाउँदै थिए । सेरामिक उद्योगका सञ्चालक पूर्णकुमार राई सन्तोषले नगरपालिकाले यसअघि पटक–पटक वडा तहका बजेटमा समेत सेरामिक तालिममा सघाएर आफूहरूलाई प्रोत्साहित गरेको सन्दर्भ जोड्दै थिए ।
 
०६६ मा स्थापित एभरेष्टको सृजना क्षेत्रको गति निरन्तर छ । कहिले रफ्तारमा त कहिले केही सुस्त भए पनि गति रोकिएको छैन । यसबेलासम्ममा यस संस्थाको काम समाजले केही बुझ्न थालेको छ । यसअघि २ पटक सेरामिक तालिम सञ्चालन गरेर १ नम्बर प्रदेशमा सेरामिक उद्योग नै पहिलो पटक विजारोपण ग¥यो । यो पटकको तालिमपछि त बजारमा प्रतिस्पर्धात्मक र कलात्मक सामग्री बन्ने यसको प्रवद्र्धनमा हुट्हुटी गर्ने सरोजालाई विश्वास छ । चीनबाट आउने सेरामिक सामग्री महँगो मूल्य तिरेर नेपालीले किन्ने गरेका छन् । त्यसको ठाउँमा कलात्मक त्यस्तै सामग्री बन्यो भने त कलाकारिताको विकाससँगै त्यसको व्यवसायिकता भयो । दैनिक सजावट र उपभोग्य सामग्री कलाबाट सिर्जना भयो भने त त्यो जीवनसँग प्रत्यक्ष जोडिने नै भयो । अनि मात्र त्यसखाले कला अर्थात् सृजनाको व्यवहारिक महत्व दिमागमा घुस्ने भयो ।
 
हामी अलि बढी सैद्धान्तिक बनिरहेका छौं । सृजना पनि सैद्धान्तिक भइरहेका छन् । हुन त कुनै पनि गीत, कविता, गजल, मुक्तक, हाइकु सबै जीवनसँग जोडिने र जीवनका लागि नै अन्तरनिहित हुने गर्छन् । तर प्रत्यक्ष रूपमा जीवनसँग जोडिने, विसङ्गतिलाई हटाउने, जीवनलाई सजिलो बनाउनेखाले भए त्यो सबैको जीवनको अभिन्न अङ्ग बन्न सक्छ । नत्र सर्जकहरू  ‘मनोरञ्जनका साधन’ अनि देशका  ‘गहना’ हुन् भन्ने वाक्यांश औपचारितामा अर्थात् सिद्धान्तमा दोहोरिइरहे पनि व्यवहारमा सर्जकलाई काम नभएर के के उराल्दै हिँड्नेहरुको कोटीमा राखिरहने हुन्छ । अर्थात्  ‘गहना’ त बेलाबखत देखाउन लगाइन्छ तर अधिकांश समय दराजमा थन्क्याएर राखिन्छ । सर्जक पनि मन लागेमा लगाउने र नलागेका फुकाल्ने ‘गहना’ को परिभाषामा जोडिएको देखिन्छ ।
 
अर्कातर्फ, गीत र नृत्य मन नपराउने नेपाली पनि सायदै हौंला । कहीँ कतै कार्यक्रममा जाँदा रमाइलो मानेर गीत र नृत्य हेर्छाैं । तर आफ्नै घरमा नाच्ने र गाउने पेशा अँगालेर जान्छु भन्ने सन्ततीलाई कति प्रोत्साहन दिन्छौं ? यस्तो प्रोत्साहन दिन अझै पनि हामी धेरैजसो तयार हुँदैनौं । त्यस्ता सृजनालाई पैसा तिरेर हेर्न तयार हुँदैनौं । तब यसखाले सृजना ‘सस्तो मनोरञ्जनका क्षणिक साधन’ मात्र बन्छन् । कला या सृजनाको गहनतम् महत्वमा पर्दै पर्दैनन् । परापूर्वकालमा कुनै सर्जकले त्यसबेलाको अवस्था उल्लेख गरेर लेखेको रामायण, महाभारत, पुराण, वेद, उपनिषद्हरू किन अहिलेसम्म प्रिय छन् ? होलान् त्यसभित्र त्रुटी पनि । समय सान्दर्भिकतामा अहिले नमिल्दा कुराहरू ।
 
तर पनि ती कृतिहरू लोप हुने अवस्थामा छैनन् । अर्थात् तिनीहरूको प्रभाव छ नै । हामीले लेखेका केही गीतहरू वाचेका छन्, त्यसलाई गाउने केही गायक, गायिकहरू व्यवसायिक भएका छन् । तर कविता, गजल, कथा, उपन्यास लेख्ने सर्जकहरू व्यवसायिक बन्न सकेका छैनन् । विधागत हिसाबले व्यवसायिकताका फरकपन र अप्ठ्यारा त होलान् । तर पनि हामीले जीवनसँग जोडिएका र जीवनकै लागि सृजना कम गर्यौं कि भन्ने लाग्छ ।
 
अनि हामीले जीवनका लागि सृजना बुझाउन पनि झनै सकेका छैनौं । महाभारत, रामायणलाई बरु समाजले आफ्नो हिसाबले के कसरी बुझ्यो, तिनीहरूको प्रभाव छायो । तर यस युगमा लेखिएका सृजनाहरू बूढाबाले श्लोक पढेजस्तो अनि आमैले सङ्गीनी भनेजस्तो गढ्ने बन्न सकेनन् । तसर्थ जीवनसँग सृजना जोड्ने व्यवहारिक अभियानमा सर्जकको अभियान आवश्यक छ । यसका लागि कलाको क्षेत्रबाट एभरेष्टले थालनीको प्रयास गरेको छ । प्रत्येकका घर–घरमा, मन–मनमा यहाँबाट सृजित सृजना पुगून् र जीवनका लागि अभिन्न बनून् ।