धरान/ एकपछि अर्को चर्चित गीत गाउँदै आएकी मेलिना राईको स्वर स्रोताहरूले मन पराउँदै आएका थिए ।
यसपटक पुरानो फिल्म आफ्नो मान्छेको गीत ‘चट्ट रुमाल क्यामालुम्.....’ लाई रि–एरेञ्ज गरेर फिल्म ‘यात्रा’का लागि मेलिना राई र धर्मेन्द्र सेवानले गाए । गीतको भिडियो सार्वजनिक हुने बित्तिकै स्रोता दर्शकका विभिन्न प्रतिक्रिया आए । तीमध्ये अधिकांश प्रतिक्रिया ओरिजिनल गीतमा शम्भुजित बाँस्कोटा र साधना सरगमले गाएजस्तो राम्रो नसुनिएको भन्ने किसिमका थिए ।
ताली पाउने आशामा रिमेक गरिएको गीतबाट बढी गाली खाएपछि गायिका मेलिना राई आक्रोशित भइन् । उनले गीत नराम्रो हुनुमा आफ्नो दोष नभएको भन्दै ‘यात्रा’ टिमकै गल्ती भएको स्टाटस् लेखिन् ।
उनले आफैंले गाएको गीतलाई थोत्रे गीत भन्दै आक्रोश पोखेपछि उनी विवादमा परेकी छन् । उनले फिल्म टिमले आफूलाई दुई पटक गीत गाउन लगाएर थोत्रे गीत राखेको र कोरियोग्राफी पनि राम्रो नभएको भन्दै दोष जति अरूलाई थोपरेपछि उनीमाथि लगातार गसिपहरू आउन थालेका छन् ।