पूर्वेली गायक तथा सङ्गीतकार विनोद खम्बु स्टेज कार्यक्रममा खुब जमेर प्रस्तुत हुन्छन् । गायन, सङ्गीत र प्रस्तुतिका कारण उनले सङ्गीत क्षेत्रमा बेग्लै पहिचान बनाएका छन् ।
राजेशपायल राई, मेलिना राईलगायतका धेरै गायक गायिकाको स्वरमा सङ्गीत भरिसकेका उनका आफ्नै गीतहरू पनि चर्चित छन् । राजेशपायलले गाएको ‘बसमा छैन यो मन’, ‘सेली आईलभ यू’, मेलिना राईले गाएको ‘छाडिजाने भए तिमी’, मौसमी गुरुङले गाएको ‘शितल शितल छायाँ तिम्रो’ लगायत धेरै गीतहरूमा सङ्गीत भरेका खुम्बुले आफै गाएका गीतहरू पनि चर्चित छन् । लोकशैलीका ‘झझल्को आइरहन्छ’, ‘झन्–झन् खायो’ लगायतका गीतहरू गाएका खम्बु अहिले पनि गीत रेकर्डिङ र साङ्गीतिक कार्यक्रममै व्यस्त रहन्छन् ।
तर उनले सङ्गीत क्षेत्रमा टिक्न निक्कै ठूलो सङ्घर्ष गरेका थिए ।
उनले काठमाडौंमा गएर के मात्र गरेनन्, गायक बन्ने सपना पूरा गर्न । कहिले भारी बोके, कहिले बालुवा चाले अनि कहिले घरका भित्तामा रङ लगाए । बिहीबार साङ्गीतिक कार्यक्रमका लागि गाउन मोरङको टाँडी पुगेका उनले सङ्घर्षका दिन सम्झिँदै सुनाए ‘त्यही दुःख र सङ्घर्षले अहिले मलाई सङ्गीतबाटै बाँच्न सक्ने बनाएको छ ।’
खम्बु सानैदेखि रकस्टार बन्ने सपना देख्थे । तर सपना देख्न जति सजिलो थियो पूरा गर्न उस्तै गाह्रो । एकदशकअघि आफ्नै सपनाका विषयमा एउटा गीत रेकर्ड गराएका थिए खम्बुले ।
ठूले बन्यो इञ्जिनियर,
बिर्खे बन्यो राम्रो डाक्टर
तर म बन्छु राम्रो रकस्टार ।
अहिले गायक तथा सङगीतकार खम्बु विभिन्न ठाउँका कन्सर्टमा गाउँछन्, फिल्म तथा एल्बम्का गीतमा सङ्गीत भर्छन् । यसैबाट चलेको छ उनको जीवन । नेपालका विभिन्न ठाउँ र विदेशमा समेत आफ्नो गायन कला देखाइसकेका खम्बुले नेपाली सङ्गीत क्षेत्रमा स्थापित हुन धेरै दुःख गरेका थिए ।

सानोमा दशैं–तिहारका बेला गाउँदा सबैले ‘स्वर राम्रो छ’ भनेर हौस्याएपछि २०५३ सालमा गायक बन्ने सपना देखेर उनी काठमाडौं आए । २०५४ मा रेडियो नेपालबाट स्वर परीक्षा पनि पास गरे । तर आर्थिक अवस्था नाजुक थियो । जीवन चलाउने मेलो खोजे । काठमाडौंको बसाई, घरबाट पैसा मगाउने अवस्था थिएन । ‘घट्टेकुलो चोकको पसलमा काम गर्थें । त्यहाँबाट मासिक १२ सय पाउँथें । काम चाहिँ चामल, चिनीको बोरा ल्याउनु पर्ने कालिमाटीदेखि’ उनी सुनाउँछन्, ‘बोरा लोड अनलोड गर्ने, गोदाममा राख्ने सबै आफैले गर्थें । ग्राहक आए भने नाम्लोमा बोकेर घरसम्म लगिदिन्थेँ । जे भेट्यो त्यही काम नगरेर के गर्नु, भन्ने बित्तिकै पैसा हुँदैनथ्यो ।’

काम गर्दै फुर्सद मिलाएर सङ्गीत पनि सिक्थे । तर सधैँ तिर्ने पैसा हुँदैनथ्यो । एक महिना पुगेपछि पैसा तिर्ने बेलामा त्यो स्कुल छाडेर अर्कोमा जान्थे । यसरी डोरेमी, साधना कलाकेन्द्रलगायत ५–६ वटामा सिके बिना पैसा । पछि इटहरीका राम कार्कीले उनको सङ्गीतप्रतिको लगाव देखेर निःशुल्क १ वर्ष सिकाइदिए ।

सङ्गीतमा सङ्घर्ष गर्ने क्रममा केही समय काठमाडौंमा बोर्डिङ स्कुलमा पढाए तर तलबले खान बस्नै नपुग्ने भएपछि पढाउन छाडेर घरमा पेन्टिङ गर्ने काम शुरु गरे । ‘घर बनाएको ठाउँमा बालुवा चाल्ने काम पनि गरेँ । इँटा पनि बोकेँ’ उनी भन्छन्, ‘४ तलामाथि घरमा पेन्टिङ गर्दा छेउबाटै प्लेन उडेको देख्थेँ । कुनै दिन म पनि यही जहाजमा चढ्न पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो । गायक भएर प्लेन चढियो विदेश पनि पुगियो ।’ अहिलेसम्म उनले ५ वटा एकल एल्बम् निकाले । धेरै वटा फिल्ममा सङ्गीत भरे । अरुका आधा दर्जन एल्बम्मा सङ्गीत भरे, गाए ।

सङ्गीत क्षेत्रमा चल्न सङ्घर्षमात्र होइन, भाग्य पनि चाहिने रहेछ भन्ने लाग्छ उनलाई । उनी भन्छन्, ‘नेपाली सङ्गीत क्षेत्रलाई राम्रो गीत सङ्गीत दिने अनि आफ्नो फरक पहिचान बनाउने सोचमा छु । मौलिक सङ्गीतकारको परिचय बनाउन चाहन्छु ।’