नयाँ दिल्ली/ निकै लोकप्रिय रहेको भिडियो एप्स ‘टिक–टक’माथि भारतमा प्रतिबन्ध लगाइएको छ ।

भारतमा गएरातिबाट नै गुगल प्लेस्टोरबाट ‘टिक–टक’ हटाइएको छ । एप्पलको प्लेटफर्ममा भने रातिसम्म सो एप्स उपलब्ध रहेको बताइएको छ ।

मद्रास उच्च न्यायालयको निर्देशानुसार भारतमा उक्त एप्स प्रतिबन्ध लगाइएको हो । मद्रास उच्च न्यायालयको आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिरहनु नपर्ने ठहर गरेपछि प्रतिबन्ध मंगलबार रातिबाट लागू भएको हो । सर्वोच्च अदालतले मद्रास उच्च न्यायालयमा यस सम्बन्धी मुद्दा विचाराधीन रहेको भन्दै सो मुद्दाको फैसला नआएसम्म सर्वोच्चले उक्त विषयसँग सम्बन्धित पुरक मुद्दा नहेर्ने निर्णयसमेत गरेको छ ।

फेसबुकमा पछिल्लो समय ‘टिक–टक’ भिडियो निकै लोकप्रिय हुँदै गएका छन् । बालबालिकालाई असर परेको भन्दै अदालतले यसमा रोक लगाउने निर्णय गरेको हो । ‘पोर्नोग्राफी’ बढाएको, यस्ता भिडियोका ‘कन्टेन्ट’ अश्लील हुने गरेको भन्दै अदालतले रोक लगाउने फैसला गरेको हो ।

एजेन्सी