विराटनगर /  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले दोस्रो दिन पनि प्रदेश १ को प्रदेश सभा अवरूद्ध गरेका छन् ।
प्रदेश सरकारले ल्याएको मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनको कार्यसूचीबाट हटाउन माग राख्दै सोमबार प्रदेश सभा अवरूद्ध गरेका हुन् । सदन अवरुद्ध गरेपछि अर्का बैठक असोज ५ गते बस्ने सभामुख प्रदिपकुमार भण्डारीले जानकारी गराएका छन् । प्रदेश सभाको ५१ औं बैठक सुरु हुनासाथ कांग्रेसका सांसदले उठेर विरोध गरेपछि सभामुख भण्डारीले असोज ५ गते १ बजेका लागि बैठक तोकेका छन् । यस अघि मंगलबार पनि कांग्रेसका सांसदले बैठक अवरुद्ध गरेका थिए ।
प्रदेशसभामा मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनको कार्यसूचीबाट हटाउनु पर्ने कांग्रेसले माग राखेको छ । यही अडानमा कांग्रसले दोस्रो दिन पनि बैठक अवरुद्ध गरेको हो ।
कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विधेयकमा चित्त नबुझेका विषयमा सरकारको ध्यानाकर्षण गराइसकेका बताए । जबरजस्ती पेलेर विधेयक पारित गर्न खोजिए सदन चल्न नदिने उनको भनाई थियो । अहिलेसम्म सबै कानुन सहमतिको आधारमा पारित भएको भन्दै आफूहरुले विरोधका लागि मात्र विरोध नगरेको उनले बताए ।
प्रदेश सरकार भने मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक चालु बर्खे अधिवेशनबाटै पूरा गराउने तयारीमा छ । विश्वविद्यालयका लागि सरकारले ल्याएको बजेटमा रकमसमेत छुट्याइएकोले यसलाई जसरी पनि पारित गर्ने सरकारको तयारी छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्राविधिक शिक्षाको गुणस्तरीय विकासका लागि विधेयक ल्याइएको दाबी गरेका छन् ।
कांग्रेसले विधेयकमा समावेश गरिएको ‘बोर्ड अफ गभर्नस’ नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउने, कर्मचारीलाई जस्ताको त्यस्तै विश्वविद्यालयमै लिने विषयमा कांग्रेसले असहमति जनाउँदै आएको छ ।