धरान/ ‘बा–आमा’ कुन कुनामा छन्, १३ वर्षीय आयुष भुजेललाई थाहा नभएको करिब एक वर्ष पुगिसकेको छ ।

जीवनको जोडघटाउको भेउ नभएका उनीसहित चार जना भाइबहिनी अभिभावकविहीन भएपछि अरूको घरमा आश्रय लिन बाध्य छन् । धरान–१७ को दीपेन्द्र आधारभूत स्कुलमा कक्षा ४ मा पढ्ने उनी धरान–१० रमाइलो चोकमा आश्रित छन् । दुई भाइ असिम भुजेल र पावल भुजेल धरान–१७ का मदन राईको घरमा आश्रय लिइरहेका छन् । बहिनी आशिका भुजेल धरान–५ देउरालीमा छिन् । तर, कसको घर ? उनलाई समेत ज्ञान छैन । उनलाई यति ज्ञान छ, काठे पुल नजिकै बस्छिन् ।

पढ्ने खुबै रहर छ आयुषमा । तर, अभिभावकविहीन बनेपछि पढाइ बेटुङ्गो बनेको छ । बिहानभरि आश्रित घरमा काम सघाउँछन् र स्कुल आइपुग्छन् । स्कुल लागेका बेला एकै दिन पनि बिदा बस्दैनन् । उनी भन्छन्,–‘स्कुल छुट्टी हुँदा विरक्त लाग्छ, स्कुल आउन मात्रै मन लाग्छ ।’ उनका भाइहरू पनि त्यही स्कुलमा कक्षा ३ र १ मा पढ्छन् । सबैभन्दा कान्छा भाइ पावल केही समय अघिसम्म पहाड भोजपुरमा बस्थे । ‘पढाइदिन्छु भनेर लगेका रहेछन्, तर पढाउने त के कुट्दा रहेछन्’ स्कुलका प्रधानाध्यापक पर्वत सञ्जेल भन्छन्, ‘त्यहाँबाट केही महिनाअगाडि मात्रै यहाँ आएका हुन् ।’

अभिभावक एकाएक बेपत्ता बनेपछि उनीहरू सहाराविहीन छन् । ‘चारै जनाको बिजोक छ, वडा कार्यालयलाई पनि जानकारी दिएको, कसैले वास्ता गरेन’–प्रअ सञ्जेलले भने । १७ नम्बर वडा कार्यालयले पनि उनीहरूको लालन–पालनका लागि गतिलो उपाय खोज्न नसक्दा प्रअ सञ्जेल चिन्तित छन् । उनका अनुसार अनाथ आश्रममा पनि कुरा चलाइयो । तर, बुबाआमाको नागरिकता खोजेका कारण त्यो पनि सम्भव भएन । उनीहरूको जन्मदर्ता भने वडा कार्यालयको सहयोगमा बनाइएको छ । स्कुलले उनीहरूको लागि महिना–दुई महिनामा एक–दुई बोरा खाद्यान्न दिँदै आएको छ । तर, त्यो उनीहरूको लागि पर्याप्त होइन ।

माइला भाइ असिमसम्मलाई ज्ञान छ, बुबाआमा हराएका छन् भन्ने । पावल र आशिकालाई त्यो पनि ज्ञान छैन । असिम भविष्यमा लाहुरे बन्न चाहन्छन् । तर, कसरी त्यो थाहा छैन । ‘म लाहुरे बन्ने हो’–उनले भने । पावलले भने आफू पुलिस बन्न चाहेको बताए । सबैभन्दा जेठा आयुषले भने चित्रकार बन्ने सपना पालेका छन् । चित्रप्रति मोह छ उनको । तर, ओत लाग्नेसम्मको बन्दोबस्त नहुँदा चित्रका लागि चाहिने सामग्रीको त कुरै रहेन । ‘चित्र बनाउन रहर लाग्छ, चित्रकार बन्छु’–उनी भन्छन् ।

आमा अर्कैसँग हिँडेपछि बुबा राजु भुजेल पनि एकाएक बेपत्ता बने । राजुले ज्यालामजदुरी गरेर छोराछोरीको जीवन निर्वाह गर्दै आएका थिए । मादक पदार्थ सेवन गर्ने कारण सधैँ घरझगडा हुन्थ्यो । मदन राईकै ट्याक्टरमा काम गर्थे । उनकै घरमा बस्थे । भोजपुरबाट राम्रो सपना पालेर धरान झरेका थिए राजु । तर, उनको सपनासँगै छोराछोरीको सपना झनै टुटेको छ । ‘टुहुरा’ बनेका छन् । आयुषलाई बुबाआमा ज्युँदो नै छन् भन्ने ज्ञान छ । तर, कहाँ ? अनुत्तरित छन् । यसरी आयुषसहित चारैजना बालबालिका नाजवाफ कहिलेसम्म ? प्रअ सञ्जेलले पनि बुझ्न सकेका छैनन् ।