धरान / अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को शुक्रबार प्रदेश १ तदर्थ समिति गठन भएको छ । एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्षसमेत रहेका किशोर राईलाई तदर्थ समितिको अध्यक्षमा चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा क्रमशः प्रवीण सुवाल, गणेश राई, दीपक श्रेष्ठ र सुरेश साह छन् । समितिको महासचिवमा अमृत आले, सचिवमा नवीन राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भए ।
यसैगरी सदस्यहरूमा गोविन्द राई, रतन कार्की, मनिष दाहाल, देवेन्द्र बास्तोला, शेखर राई, दिनेश बस्नेत, अनुरोध थापा, समीर राई, सुदीप उप्रेती, महिला सदस्यमा कौशिला सुब्बा र आशा राई रहेका छन् ।
ताप्लेजुङ, इलाम र सङ्खुवासभा जिल्लाबाट सदस्य आगामी पहिलो बैठकले चयन गरिने एन्फाका केन्द्रीय सदस्य दीपक राईले बताए । नवनिर्वाचित तदर्थ समितिलाई एन्फाका केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पा, सहायक महासचिव वसन्त अर्याल, प्रवक्ता एवम् सदस्य किरण राईलगायतले टीका लगाई स्वागत गरेका छन् । नवनिर्वाचित पदाधिकारीहरूलाई बधाइ ज्ञापन गर्दै अध्यक्ष शेर्पाले चुनावमा आफूले राखेका केही एजेण्डाहरूमध्ये विकेन्द्रीकरण गर्ने रहेकामा प्रदेश कमिटी गठनसँगै त्यो एजेण्डाले मूर्तता पाएको बताए ।
उनले जबसम्म जिल्ला र प्रदेशहरू बलिया हुँदैनन् तबसम्म फुटबल बलियो नहुने तर्क गरे । उनले नेपालको फुटबललाई माथि उठाउन जिल्ला र प्रदेशमा सिधै एन्फाले बजेट विनियोजन गर्ने बताए । उनले अब रेफ्री, प्रशिक्षक र व्यवस्थापकको प्रशिक्षण गराउने बताउँदै अब लाइसेन्स प्राप्तहरूलाई मात्रै एन्फाले अवसर प्रदान गर्ने बताए । नवनिर्वाचित अध्यक्ष किशोर राईले प्रशिक्षक÷रेफ्री तालिमबाट खेलाडीहरूले अवसर पाउने बताए । उनले जिल्ला लिगहरू चाँडै गर्ने वातावरण तयार गर्न एन्फासँग आग्रह गरे । उनले आफू जिल्ला र केन्द्रसँग समन्वय गरेर अगाडि बढ्ने बताए । उनले जिल्ला÷प्रदेशको अनुगमन गरेर राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्डको व्यवस्था गर्नसमेत एन्फालाई आग्रह गरे ।