धरान / उच्च अदालतले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो । गिरी सुरक्षाकर्मीकै आँखाअगाडि भारततिर फरार भए । अदालतको आदेशअनुसार उनी ढिलो चाँडो पक्राउ त पर्ने नै भए । तर आफूलाई अनन्तश्री, जगद्गुरु, त्रिदण्डधारी, महायोगी सिद्धबाबा बताउने गिरीले अर्काको स्वामित्वमा रहेको जमिन कब्जा गरेर निर्माण गरेका भौतिक संरचना र उनको संरक्षकŒवमा सञ्चालित रामानन्दाचार्य सेवा पीठको अवस्था र भव्य भवन के हुने भन्ने चर्चा चल्न थालेको छ ।

सेवा पीठमा उनीपछिका उत्तराधिकारी अहिलेसम्म कोही देखिएका छैनन् । संस्थाका सर्वेसर्वा उनी नै थिए । गत कात्तिक ४ गते मध्यराति दीक्षा ज्ञान दिने बहाना बनाएर एक छोरा र एक छोरीकी आमालाई आफूमात्र बस्ने ‘महाराज कुटी’ मा म्यासेजमार्फत् बोलाएर बलात्कार गरेको आरोप लागेपछि सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीनलाख धरौटी राखेर तारेखमा छाड्ने आदेश दियो ।

उक्त आदेश बेरितको भएको भन्दै विराटनगरस्थित उच्च अदालतमा परेको रिटमा मुख्य न्यायाधीश तिलकप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले बिहीबार सुनसरी जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।

अहिले फरारका सूचीमा रहेका सिद्धबाबा कहाँ छन् ? कसैलाई थाहा छैन । अझै पनि बहाना भने स्वास्थ्य उपचारका लागि भारत गएको बताइँदैछ । उनी फरार भएपछि उनको आश्रम चकमन्न भएको छ । आश्रममा भएका केही महिला र पुरुष अनुयायीहरू सपना हो कि विपना छुट्याउन सकिरहेका छैनन् । अब के गर्ने ? कसरी आश्रम चलाउने ? ०६४ सालमा सुनसरी–मोरङ सिंचाइ आयोजनाको १३ बिघा जग्गा कब्जा गरेर बनाएको करोडौंको भवन कसको स्वामित्वमा जाने हो भनेर चिन्तित बनेका छन् रामानन्दाचार्य सेवा पीठका सदस्यहरू ।

भव्य भवन, महाराज कुटीलाई वराहक्षेत्र नगरपालिका र सुनसरी–मोरङ सिंचाइ आयोजनामध्ये एकले स्वामित्वमा लिएर जनहितमा सदुपयोग गर्नुको विकल्प छैन ।

 

सेवा पीठका सर्वेसर्वा नै गिरी भएकाले अब उनको अनुपस्थितिमा के गर्ने, के नगर्ने भन्ने चिन्ता हुनु स्वभाविक हो । फरार भएका गिरीलाई प्रहरीले जहाँ भेट्यो, त्यहीँ पक्राउ गरेर थुन्नुपर्ने हुन्छ । थुनामै रहेर गिरीले आफू बलात्कारी नभएको प्रमाणित गर्न मुद्दा पनि लड्नु पर्छ । तर उनी फरार नै भएपछि अदालतको आदेशविरुद्ध गएको देखिन्छ । हुन त उनी पहिले पनि फरार सूचीमा थिए तर धेरै पहिले । सोलुखुम्बुको जुबुमा आमाबाबु, दाजुभाइलगायत परिवारसहित बस्दा सँधियारसँग विवाद हुँदा छिमेकीलाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

तर उनी गाउँबाटै फरार भए । सायद त्यो मुद्दाको फाइल सोलुखुम्बु जिल्लामा गएर खोजे थाहा हुन्छ । लामो समयपछि उनी भेष बदलेर आए, युवा सन्त बनेर । कक्षा सात फेल गिरी एकातिर हरितक्रान्तिको कुरा गर्ने र अर्कोतिर सुनसरी र मोरङका ६८ हजार हेक्टर जमिन सिंचाइ गरेर हरित बनाउने सुनसरी–मोरङ सिंचाइ आयोजनाको जग्गा हडपेर आयोजनालाई नै असफल बनाउने प्रयास गरेको आरोप पनि लाग्दै आएको छ ।

विवादै विवादमा अल्झिरहने सिद्धबाबा बलात्कार आरोपमा थुनामा बस्नुपर्ने भएपछि फरार भएकाले अब सुनसरी–मोरङ सिंचाइ आयोजनालाई जग्गा र भवन फिर्ता गर्न भने निकै सहज भएको छ । यसअघि आयोजनाले सिद्धबाबाविरुद्ध बोल्न आँट गरेको थिएन । पुष्पकमल दाहाल प्रचण्डलाई भैंसी पूजन गराउने, आफ्नो स्वामित्वमा नभए पनि कब्जा गरेको जग्गामा नक्सापास नगरी ८ करोड लागतमा बनाएको १ सय २८ कोठे भवन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उद्घाटन गराउने हैसियत बनाएपछि सिंचाइ विभाग र आयोजनाका पदाधिकारीहरू सिद्धबाबालाई केही भन्न सकिरहेका थिएनन् ।

यता वराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले आयोजनाको जग्गामा बनाएको विशाल भवनलाई नगरपालिका र जनताको हितमा सदुपयोग गर्न सकिन्छ कि भनेर प्रदेश सरकारसँग सल्लाह गरिरहेका छन् । आफ्नो स्वार्थअनुसार भक्तजनबाट रकम असुलेर सिद्धबाबाले भव्य भवन त बनाए तर जग्गाको स्वामित्व नै नभएको र नक्सापासको प्रमाण–पत्र पनि नभएकाले पहिले पनि दोधारमा थिए ।

उनले धर्मको नाम भजाएर साधुसन्त, महन्त बनेर राजनीतिक दलका शीर्षस्थ नेताहरूदेखि प्रहरी प्रशासन, ब्यूरोक्रेसीलाई समेत प्रभावित बनाएर चाहेमा जे पनि गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्न सफल भएका थिए । उनको बलमिच्याइँले बनेको भव्य भवन, महाराज कुटीलाई वराहक्षेत्र नगरपालिका र सुनसरी–मोरङ सिंचाइ आयोजनामध्ये एकले स्वामित्वमा लिएर जनहितमा सदुपयोग गर्नुको विकल्प छैन ।