धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत नर्सहरुको विषयमा विमारी तथा उनीहरुका आफन्तले बारम्वार गुनासो गर्ने गरेका छन् । नर्सहरुले ‘राम्रो हेरचाह गदैंनन्, झर्किएर बोल्छन्, राम्रो सल्लाहा सुझाव पनि दिदैंन् ।’ यी वीपी प्रतिष्ठानमा कार्यरत नर्सहरुले खेप्दैं आएका आरोप हुन। विकसित देशमा ‘नर्स’ भन्ने वितिकै श्रद्धाले हेर्ने गरिन्छ । वाहिर विश्वयूद्धको अग्नी दनदनी वलिरहेको बेला मान्छेहरु दिनहुँ हताहत र घाइते भइरहेको समयमा सानो टुकी वालेर फ्लोरेन्स नाईटएगंल घाईतेहरुको सेवामा हरपल खटिरहेको इतिहास हो नर्सको । गएको शताब्दीमा संसारभरिका मान्छेहरुले अत्यन्त महत्व दिएर आदरका साथ ‘नर्स’लाई हेर्ने गरिन्थ्यो तर काम पनि त्यहीअनुसार नर्सहरुले गदैंआएका थिए । सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधीहरु वोकेकी अनि मुस्कान सहितको सेवा प्रदायक स्वास्थ्य परिचारीका नै नर्सको परिचय हो । नर्स भन्नासाथ अस्पतालको याद आँउछ अनि मुख्य कुरा स्वास्थ्य सुधार अनि ममतामयी सेवा पनि याद आँउछ । यस्तो इतिहास बोकेका ‘नर्स’हरु यो २१ औं सताव्दीमा किन बद्नाम छन् त ? नर्सलाई ‘छुच्ची’ को उपमा त दिइन्छ तर किने यस्तो अवस्था सृर्जना भयो भन्ने विषयमा भने शुष्म अध्ययन भएको छैन् ।
दुःखदायी ड्युटी
शुरुशुरुमा नर्सिगलाई दुःख लाग्दो ब्यवसाय, रात्रीकालिन ड्यूटी पर्ने, विरामी अनि घाउ रगतसँग काम गर्न पर्ने भन्ने रुपमा उति राम्रो रुपमा नहेरे पनि आजको नेपाली समाजमा नर्सहरुको उपस्थिती अनि चित्रण फरक छ । यसरी दुखदायी रुपमा अनबरत रुपमा खट्ने ‘नर्स’ वीपी प्रतिष्ठानमा ‘छुच्ची’को उपमा पाउने भने बेग्लै कारण छ । प्लस टु सकिए पछि विएसी नर्सिङ अध्ययन गर्छन् । ४ बर्षे कठोर अध्ययन पछि उनीहरु जागिरमा जान्छन् । झण्डै ७ लाखदेखि २५ लाखसम्म खर्च गरेर पढेका नर्सको वीपी प्रतिष्ठानमा मासिक २५ हजार मात्र तलव छ । त्यो २५ हजार तलव उनीहरुको लागि ‘हात्तिका मुखमा जिरा’ सरह हो । अन्य सरकारी अस्पतालमा काम गर्ने नर्सले ग्रेस भत्ता पाउछन् । ड्रेस भत्ता बार्षिक १० हजार सरकारले दिन्छ । तर प्रतिष्ठानले ड्रेस बापत ३२ सय मात्र दिदैं आएको नेपाल नर्सिङ संघका अध्यक्ष तथा प्रतिष्ठानका मेट्रोन प्राध्यापक उपेन्द्र यादवले बताए । आफै आर्थिक, मानसिक, शारिरिक तनावमा रहेका नर्सले ‘मुस्कानसहितको सेवा’ दिन नसकेको हुन सक्ने मेट्रोन यादव बताउछन् । प्रतिष्ठानमा पुराना नर्सहरुलाई आवसको पनि व्यवस्था छ । तर नयाँ आउनेहरुलाई आवासको कुनै व्यवस्थापन पनि छैन् । उनीहरुलाई काउन्सिलिङको पनि अभाव भएको मेट्रोन यादव बताउछन् । जोखिम, ग्रेट तथा पोषक भत्ता दिएर नर्सहरुलाई प्रोत्सोहान गर्नु पर्ने उनको भनाई छ । नर्सको स्थायी जागिर नखुलेको ७ बर्ष भयो । जागिरको पूर्ण ग्यारेन्टी नभएका कारण पनि उनीहरुमा वितृष्णा छ । प्रतिष्ठानमा ६ सय ५४ जना नर्सको अवश्यकता छ तर हाल ४ सय ८९ जना मात्र छन् । करिव ढेड सय भन्दा बढिको अभाव छ ।

नर्स तथा विमारी विच द्वन्द्वका कारण

प्रायप्त जनशक्ति अभावमा राम्रो सेवा दिन सकेका छैनन् । नेपाल नर्सिङ काउन्सिलको नियममा एउटा नर्सले दैनिक ५/६ जनाको हेरचाह गर्न सक्छ्न । तर प्रतिष्ठानमा एउटा नर्सको भागमा झण्डै १५/२० जना विमारी पर्छन । आकष्मिक, गाइनो वडामा विमारीको चाप तथा नर्सको अभावमा राम्रो सेवा दिन सकिएको सम्बन्धित विभागीय प्रमुख बताउछन् । ३४ वटा बेडमा २ जना नर्सले हर्नु पर्ने वाध्यताले नर्सहरु सधै तनावमा हुने गरेका छन् । सधै तनावमा काम गरिरहेका बेला विमारीको आफन्त तथा विमारीको ‘कचकबच’ ले झन तनाव हुदा –नर्स तथा विमारी विच द्वन्द्व हुने गरेको छ । ‘यहाँका नर्स ‘छुच्ची’ होइनन्, राज्य, विमारी र परिस्थितिले बनाएको छ ।’–गाइनो वार्डमा कार्यरत एक नर्सले भनिन–‘चिकित्सकहरुले पनि अनावश्यक रुपमा नर्सहरुलाई नै कामको बोझ थपि दिने र उपयुक्त सेवा सुविधाको अभावमा नर्स सबै तनावमा हुन्छन् ।’ नर्सहरुका लागि भनेर छुट्याएको जी वान टाइप आवास भवनमासमेत अन्य प्रशासनिक कर्मचारीहरुको हाली मुहाली रहेको छ । पुराना नर्सहरुले कोठा छाडेर गए पछि नयाँलाई दिइएको छैन् । आवास समिति र प्रशासनको मिलेमतोमा पहुँचवालाहरुलाई मात्र आवास वितरण गर्ने गरेको उनीहरुको आरोप छ ।
नर्सको समस्या सिनेटमा पुग्दैन
७ बर्षदेखि स्थायी नियुक्तिका लागि आवश्यकता खुलाइएको छैन् । प्रतिष्ठानको महत्वपूर्ण निर्णय हुने, नीति नियम बन्ने सिनेट बैठकमा नर्सहरुको प्रतिनीधि कहिल्यै पनि राखिने गरेको नर्सहरुले गुनासो गरेका छन् । नेपाल नर्सिङ संघले गत २०७५ साउन १३ गते र २०७६ पुस १८ गते उपकुलपति समक्ष ६ बुदे ध्यानाकर्षण पत्र बुझाएको थियो । सरुवा, बढुवा, आवास, जोखिम भत्ता रात्री डुयुटी भत्ता, पोषाक भत्ता, स्व–अध्ययन विदालगायत माग राखी बुझाएको थियो । तर यि विषयमा हालसम्म कुनै सुनुवाइ भएको छैनन् । डाक्टरहरुलाई अध्ययन विदा दिने तर नर्सलाई नदिने नियमले कतिपय पुराना नर्सहरु पलायन भएको उनीहरु बताउछन् ।
माहिनामा ८ /१० जना नर्स पलालयन
वीपी प्रतिष्ठानमा काम गर्ने चिकित्सक तथा नर्सहरुलाई अन्यत्र राम्रो इज्जतले हेर्ने गरिन्छ । प्रतिष्ठानमा काम गरेकाहरुलाई विदेशमासमेत उच्च मान्यता दिने गरेको छ । तर उनीहरुको प्रतिष्ठानमा हुने भित्री दुःख भने कहाली लाग्दो छ । खर्च गरेर अध्ययन गरे अनुसारको लगानी नउठ्ने भए पछि केही महिना काम गरेको अनुभवको प्रमाण पत्र लिएर महिनामा १०/ १२ जना नर्सहरु विदेश पलायन हुने गरेका छन् । ‘नर्सहरुलाई यहाँ खासै सुविधा छैन् । त्यही भएर केही महिना काम गरेर काम गरेको अनुभवको प्रमाण लिएर विदेश जाने गरेका छन् । रोक्न सकिएको छैन् ।’–एक सिनियर नर्सले भनिन । गत जेठमा १२० जना नर्सहरु करारमा नियुक्ति गरिएको थियो । हाल फेरी ढेड सयको हाराहारीमा अभाव छ । एक सय जनाको पदपूर्ति गर्ने तयारी प्रतिष्ठानले थालेको पनि छ । करारमा नियुत्ति गरेको ४/५ महिनामै पुन अभाव शुरु हुने सम्भावना बढि हुन्छ । नर्स पलायन रोक्न प्रतिष्ठानले उनीहरुका लागि लाभदायी योजना ल्याउनु पर्ने देखिन्छ ।