धरान / दिवङ्गत पूर्वमेयर ध्यानबहादुर राईप्रति श्रद्धाञ्जलीसभामा बाेलिएकाे विषयलाई बङ्गाएर प्रचार गरेको भन्दै नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश इञ्चार्ज भीम आचार्यले आपत्ति जनाएका छन् ।

उनले बुधबार धरानमा पत्रकार सम्मेलन गरी आफूले बोलेका कुराको गलत आसयबाट प्रचार गरी नेता राईको मानमर्दन गर्ने काम गरेकाे भन्दै भत्सर्ना गरेका छन् । नेता राई इन्जिनियरिङ पढ्दादेखिको साथी भएको बताउँदै आफूभन्दा जुनियर भए पनि साथीको रूपमा लिएको बताए । नेकपा धरान उमपहानगर कमिटीले फागुन ३ गते गरेकाे श्रध्दाञ्जलीसभामा नेता राइकाे विषयमा बाेलेका थिए । 

सही अासयमा बाेलिएकाे भए पनि त्यसलाइ अतिरञ्जित गर्न खाेजिएकाेप्रति उनले अाक्राेस पाेखे । उहाँको सुखदुःख बुझ्ने परिबारपछिको आफू नै भएको दाबी गर्दै उहाँबारे आफूले बोलेको विषयलाई गलत तरिकाले व्याख्या गरिँदा दुःख लागेको बताए । ‘मैले बोलेको विषयमा भन्दा पनि शब्दमा खेल्ने काम भएछ । यस्तो गलत प्रचार गर्नु उचित होइन’ उनले भने ।

उनले यूरोप अमेरिकामा जग्गा व्यापारीलाइ राम्रो माने पनि नेपालमा राम्रो नमान्ने भएकाले नेता राइलाइ जग्गा व्यवसाय छाडेर राजनीतिमा आउन सुझाएको विषयलाइ बङ्गाएर गलत अर्थ लगाएको उनले बताए । फिरन्ते क्रान्तिकारीकाे विषय आफूले चेग्वेभाराजस्ताे गाउँगाउँ हिँड्ने, जनताको घरदैलोमा पुग्ने नेताको रूपमा बोलेको कुरा अनर्थ लगाउने कामको उनले खण्डन गरेका छन् ।

पत्रकार सम्मेलनमा नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले भने नेता आचार्यको भनाइ र आसयलाई अतिरञ्जित र बङ्ग्याएर प्रचारमा ल्याइएको बताए ।

नेकपाले नेता राई र नेकपा नगर कमिटीकी दिवङ्गत सदस्य देवलक्ष्मी प्रधानप्रति पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम राखेकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि रहेका भीम आचार्यले ध्यानबहादुर राईलाई ‘जग्गा दलाल’ र ‘फिरन्ते नेता’ भनेको भनी राई स्मृति ग्रन्थ प्रकाशन एवं सालिक स्थापना अभियानका संयोजक महेश श्रेष्ठले सामाजिक सञ्जालमा आलोचना गरेका थिए । 

सोही आधारमा समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुब लिम्बूले पनि विज्ञप्ति जारी गर्दै नेता आचार्यको चर्को आलोचना गरेका थिए । स्वर्गीय राईलाई घरघर डुलेर हिँड्ने, अध्ययन, विश्लेषण र सही निर्णय गर्न नसक्ने फिरन्ते क्रान्तिकारी, जग्गा दलाली गर्ने भन्दै भाषण गरेको आरोप लगाइएको थियो ।