बिर्तामोड/ झापाको बिर्तामोडमा सञ्चालित तक्षशीला एजुकेशन फाउण्डेशनले विद्यार्थीलाई मानसिक यातना दिएको अभिभावकले आरोप लगाएका छन् । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रमको तयारीका लागि नाच्दै गरेको अवस्थामा बच्चालाई हटाएर मानसिक यातना दिएको आरोप अभिभावकको छ ।

सोमबार नृत्यको रिहर्सल गरिरहेको समयमा तक्षशीला एजुकेशन फाउण्डेसनको कक्षा–१ मा अध्ययनरत ६ वर्षीया रौप्य पोखरेललाई विद्यालयले रिहर्सल गर्नबाट रोक लगाएको थियो । रिहर्सल गर्न नपाएपछि आफ्नी छोरी रुँदै घर आएको अभिभावक दिपा पोखरेल बताएकी छन् । सञ्चालकको डरका कारण उनी मङ्गलबार विद्यालय जान नमानेपछि अभिभावक आफैले पु¥याएर आएका थिए ।

विद्यालयले मङ्गलबार विविध सांस्कृतिक कार्यक्रमसहित वार्षिकोत्सव मनाएको छ । सोही कार्यक्रमको तयारीका लागि रिहर्सल गर्दै गर्दा पोखरेललाई विद्यालयले हटाएको थियो । विद्यालयले वार्षिकोत्सव कार्यक्रमका लागि अभिभावकलाई समेत निम्तो गरेको थियो । कार्यक्रमपछि फर्कँदा विद्यार्थी लिएर फर्किनुपर्ने शर्त पत्रमा थियो । अभिभावक गणेश पोखरेलले विद्यालयलाई महिनाभरिको गाडीभाडा तिरिसकेकाले सधंै जस्तै घर पु¥याउनु पर्ने जिकिर गरेको बताएका छन् । सोही विवादपछि विद्यालयले रिहर्सल गरिरहेकी बालिकालाई हटाएको पोखरेलको दाबी छ ।

कोरोना सङ्क्रमण हुने भयले सरकारले सभा, सम्मेलन र कुनै पनि भीडभाडको कार्यक्रम नगर्न निर्देशन दिएको छ । सोही निर्देशन बमोजिम बालबालिका अध्ययन गर्ने संवेदनशील क्षेत्र विद्यालयमा वार्षिकोत्सव गर्ने भन्दै भेला आयोजना गरिएकोमा अभिभावकको आपत्ति छ । विद्यालयले अतिथिका रूपमा बोल्न दिएका अनमेश केसीले चुनौतीका बिच कार्यक्रम भव्य रूपमा सम्पन्न भएको बताएका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका पूर्व अभिभावक राजकुमार पोखरेलले पूर्व आईजीपी मोतीलाल बोहोराकी बुहारी श्रद्धा गिरीले पैसा कमाउन होइन, गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सञ्चालन गरेको बताएका थिए । कार्यक्रममा अभिभावकलाई आफ्ना बालबालिकालाई आफैं आएर लानु होला, विहान हामी लान्छौं, बेलुका आफैंले लानुहोला भन्ने उर्दीका कारण अभिभावक बाध्य भएर कार्यक्रममा पुगेका थिए । विद्यालयमा भव्य कार्यक्रम गर्न किन दिएको ? भन्ने प्रश्नमा बिर्तामोडका नगर शिक्षा प्रमुख तिलचन भण्डारीले भने, ‘हामीले कार्यक्रम नगर्न पाँच दिनअघि नै भनेका हौं, मानेनन्, तपार्इंरू आफैले कुरा गर्नुहोला ।’