एजेन्सी / कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै बलिउडका थुप्रै कलाकारहरू सेल्फ क्वारेण्टाइनमा बसेको सार्वजनिक गरेका छन् । जसमा बिगबी अभिताम बच्चनसमेत रहेका छन् । उनले कोरोनाको प्रभावबाट बच्नका लागि सेल्फ क्वारेण्टाइनमा बसेको बताएका हुन् । उनले ट्वीट गर्दै यसबारे जानकारी गराएका छन् ।

उनले बीएमसीको तर्फबाट हातमा लगाइएको क्वारेण्टाइनको स्ट्याम्पसमेत पोष्ट गरेका छन् । अहिले बीएमसीले क्वारेण्टाइनमा बस्नेहरूको सूचीका लागि मानिसहरूको हातमा स्ट्याम्प लगाइरहेको छ । अमिताभ केही दिनसम्म आइसोलेसनमासमेत बस्ने जनाइएको छ । उनी अहिले ब्रह्मास्त्रको सुटिङमा व्यस्त रहेका थिए । तर, कोरोनाका कारण अहिले फिल्मको छायाङ्कन रोकिएको छ ।

बच्चनजस्तै अहिलेकी चर्चित नायिका आलिया भट्ट पनि आफ्नै घरमा क्वारेण्टाइन बनाएर बसेकी छन् । उनले पनि सामाजिक सञ्जालमा सेल्फ क्वारेण्टाइनमा बसेकोबारे जानकारी गराएकी हुन् । उनी पनि ब्रह्मास्त्रको छायाङ्कनमा व्यस्त रहेकी थिइन् । अर्का नायक अर्जुन कपुर पनि इन्स्टाग्रामबाट आफू क्वारेण्टाइनमा बसेको सार्वजनिक गरेका छन् । उनले कोरोनाबारे सजगता अपनाउनका लागि लामो समयदेखि सबैलाई आह्वान गर्दै आइरहेका थिए । उनले सबैलाई सेल्फ क्वारेण्टाइनमा बस्नका लागि आग्रह गरिरहेका छन् ।

कोरोनाको त्रासका कारण बेलायत पुगेकी बलिउड नायिका सोनम कपुर भारत फर्किएकी छन् । व्यवसायी आनन्द अहुजासँग विहे बन्धनमा बाँधिएकी कपुरले इन्स्टाग्राममार्फत् आफू बेलायतबाट भारत फर्किएको बताएकी हुन् । उनले श्रीमान्सहित भारत फर्किन लागेकोबारे सामाजिक सञ्जालमा जानकारी गराएकी थिइन् । उनले आफू भारत जानका लागि निकै आतुर रहेको खुलाएकी थिइन् । भारत आइसकेपछि विमानस्थलमा भारतीय सरकारले कोरोनाविरुद्ध चालेको अभियानको खुलेर तारिफ गरेकी छन् ।

घरमै बसिरहेकी भए पनि आइसोलेसनमा बस्नका लागि आफू तयार रहेकोसमेत बताएकी छन् । उनले भीडभाडमा नजानका लागि पनि मानिसहरूलाई आग्रह गरेकी छन् ।