धनकुटा । नोवेल कोरोना भाईरस (कोभिड–१९) बाट आइपर्न सक्ने संक्रमणलाई सामना गर्नको लागि धनकुटामा स्थानिय प्रशासनको पहलमा क्वारेन्टाइन र आइसोलेसन् कक्षको आईतबार स्थापना गरिएको छ ।
धनकुटा नगरपालिका वडा नं.६ स्थित् औधोगिक ग्राममा रहेको घरेलु तथा साना उद्याेग विकास समितिको खालि भवनमा कोरोना भाइरसबाट आईपर्ने सक्ने संक्रमणको सामना गर्न पूर्व तयारी स्वरुप क्वारेन्टाईन र आईसोलेसन कक्ष स्थापना गरिएको हो । औधोगिक ग्राम स्थापना गर्न घरेलु तथा साना उाधोग विकास समितिले ४ वर्ष अघि निर्माण गरेको करिव डेड्दर्जन खाली भवनमा नेपाली सेना, शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको प्राविधिक सहयोगमा क्वारेन्टाईन र आईसोलेसन कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले बताए ।

क्वारेन्टाईनको लागी तत्काल औधोगिक ग्रामको एउटा भवन र आईसोलेसनको लागी २ वटा भवन तयारी अवस्थामा राखिएको प्रजिअ विमलीले बताए । उनले आवश्याक्ता परे औधोगिक ग्रामको खाली सवै भवनहरुलाई प्रयोग गरिने बताए । त्यहाँ रहेका १५ वटा भवन मध्ये ११ वटामा आईसोलेसन र क्वारेन्टाईन, बाँकी ३ वटा भवनमा स्टोर र अर्को एउटामा मेडिकल टिम आवश्यकता अनुसार राख्ने गरी कार्य अघि बढाइएको छ ।

क्वारेन्टाईन कक्षमा तत्कालको लागि ६ वडा वेड तयारी अवस्थामा राखिएका छन् भने आइसोलेसनको लागि पनि त्यसरी नै वेडहरुको तयारी गरिएको नेपाली सेना वरखगण सल्लेरीका गणपती भगवान थापा मगरले जानकारी दिए  । उनले संम्भावित कोरोना भाइरसको संक्रमणको सामना गर्नको लागि सरकारको निर्देशन र स्थानिय प्रशासनको पहलमा नेपाली सेनाले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँग आवश्यक समन्वय गरेर पूर्व तयारीको काम गरिरहेको बताए ।

सुरक्षा निकायले आफु मातहतको १ सय सुरक्षा फौजलाई परिचालन गरेर औधोगिकग्रामको खाली भवन सफा गर्नुको साथै आवश्यक पर्ने सम्पूर्ण तयारी गरेको छ ।
सुरक्षा फौजले भवन आसपासको सरसफाई देखी लिएर त्यहाँ आवश्यक पर्ने विधुत, खानेपानी, शौचालय, बाटो लगायतको आवश्यक तयारी पुरा गरेको सशस्त्र प्रहरी बल ६ नम्बर गुल्म हेडक्वाटर धनकुटाका डिएसपी सचिन कर्माचार्यले बताए ।