खाँदबारी/संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिकाको व्यापारिक केन्द्र बुधबारेबाट गाउँपालिकाको केन्द्र ताम्कु सडक सञ्जाल जोडिएको छ । योसँगै गाउँपालिकाको २ वटा वडा पालिकाको केन्द्रसँग सिधै जोडिएको हो । चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट सडकको ट्रयाक ओपन गरी सडक सञ्जाल जोडिएको हो ।

यस वर्ष विनियोजित २० लाख रुपैयाँ बजेटबाट १ हजार सात सय ८० मिटर ट्रयाक ओपन गरी संखुवासभा खोलामा काठे पुल लगाएपछि गाउँपालिका केन्द्र र बुधबारे जोडिएको हो । स्थानीय मेघराज राईको अध्यक्षतामा गठन गरिएको उपभोक्ता समितिले २ सय ४९ घन मिटर पर्खालसमेत लगाइएका छन् ।

यो सँगै अघिल्लो वर्ष ट्रयाक खुल्ला गरिएको ५ दशमलव ९ किलोमिटर सडक पनि सरसफाइ गरिएको छ । संखुवाखोलामा काठेपुल लगाएसँगै निर्वाध रूपमा सवारी साधनबाट आवतजावत गर्न सकिने गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताए ।

यस बाटोका कारण बाला तथा शिसुवाखोलाको नागरिकलाई राहत मिलेको छ । योसँगै पहिलेभन्दा १ घण्टा बढीको समय कम भएको छ । गाउँपालिकाको केन्द्रमा लागि गाउँपालिका १ र २ देखि भोजपुरको बुम्लिङटार हुँदै जानुपर्ने बाध्यता शून्य भएको छ । हिउँद समयमा साना गाडी तथा मोटरसाइकल सञ्चालन हुने भए पनि स्थानीय हर्षित भएका छन् ।