भद्रपुर /  एम्बुलेन्सको प्रयोग गरी ससुरालीबाट घर फर्कदै गरेका ५ जनासहित एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एम्बुलेन्सले यात्रु बोकेको पाइएपछि प्रहरीले चाकललाई नियन्त्रणमा लिएको हो । यात्रुलाई नक्कली बिरामी बनाएर बोकेको अवस्थामा झापा प्रहरीले नियन्त्रणमा थिएको थियो ।
भद्रपुरबाट विराटनगरतर्फ जाँदै गरेका को २ च १२६६ नम्बरको एम्बुलेन्सले यात्रुलाई नक्कली बिरामी बनाएर लगिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिलेले पूर्वपश्चिम राजमार्गमा चेकजाँचको क्रममा वुधबार राति एम्बुलेन्स नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
विराटनगरस्थित परिवर्तन समाज कल्याण ट्रस्टको एम्बुलेन्स चालक कटहरी बस्ने अजय सरदारले विराटनगरबाट बिरामी बोकेर भद्रपुर गएका थिए । भद्रपुरबाट फर्किने क्रममा चालक सरदारले पाँचजना यात्रु हालेर विराटनगर लगिरहेका थिए । प्रहरीले सवारी साधन चेकजाँच क्रममा सोधपुछ गर्दा एम्बुलेन्समा नक्कली बिरामी फेला परेकोले नियन्त्रणमा लिइएको उनले जनाए । एम्बुलेन्समा एकै परिवारका सदस्य सवार रहेको अनुसन्धानमा खुलेको उनको भनाइ छ ।
तिनीहरूले ९ हजार भाडा तिरेर एम्बुलेन्समा विराटनगर गइरहेका थिए । भद्रपुरदेखि विराटनगर जाने एम्बुलेन्सको भाडा दर ४३ सय रहेको छ । उनीहरुलाई छाडिएको छ भने चालक सरदारसहित एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा आवश्यक कारबाहीका लागि राखिएको प्रहरीले जनाएको छ ।