धरान । धरान उपमहानगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने गरी समिति गठन गरेको छ ।

बुधबार बसेको छलफलले धरान उपमहानगरका प्रमुख तिलक राईको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो । जथाभावी रूपमा वितरण हुँदै आएको खाद्यान्न वितरण प्रणालीलाई अब धरान उपमहानगरपालिकाको फुड बैंकमार्फत् मात्रै वितरण गरिने गरी समिति बनेको नगर प्रमुख राईले जानकारी दिए ।

अहिले धरानका २० वटै वडाबाट गरिब तथा अतिविपन्न परिवारहरूको लगत संकलन भइरहेको छ । वडाका जनप्रतिनिधिबाट लगत संकलन भइरहेको उनले जानकारी दिए । सोही लगत संकलनको आधारमा नगरपालिकाले अध्ययन तथा विश्लेषण गरेर राहत वितरण गर्ने तयारी थालेको छ ।

राहत वितरण गर्दा त्यस्ता परिवारको सूची संकलन गरिने भएको छ । त्यस्ता परिवारहरू यो समयमा मात्रै नभएर अन्य समयमा पनि उनीहरूको अवस्थाको बारेमा लेखाजोखा नगरपालिकाले राख्ने तयारी थालेको छ । ‘लगत संकलनको आधारमा विश्लेषण गरेर ती घरहरूमा नगरपालिकाले सांकेतिक रूपमा केही चिन्ह प्रदान गर्नेछ’ उनले भने, ‘त्यो आधारमा भोलिका दिनमा पनि त्यस्ता परिवार पहिचान हुन सकोस् ।’

राहत वितरणमा चुस्तता ल्याउनका लागि जथाभावी रूपमा वितरण गर्नेहरूलाई प्रहरी प्रशासन र नगर प्रहरीले रोक लगाउने भएको छ । धरानमा हालसम्म विभिन्न सङ्घसंस्था तथा जनप्रतिनिधिहरूले आफूखुशी खाद्यान्न तथा विभिन्न सामग्री वितरण गर्दै आइरहेका थिए । अब त्यो रोकिने भएको छ । धरान उपमहानगरले सोमबार साँझ फुड बैंक स्थापना गरिसकेको छ । फुड बैंकमा धरान जेसीजले एक हजार केजी चालम वितरण गरिसकेको छ ।