धरान । मन्त्रिपरिषद्ले राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघिका गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल फागुन ५ गतेदेखि नै समाप्त भएपछि पद रिक्त रहेको थियो ।

गभर्नरमा नियुक्त भएका अधिकारी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत थिए । पूर्व गभर्नरको अवकास भएपछि कार्यवाहक गभर्नरका रूपमा चिन्तामणि सिवाकोटीले काम गर्दै आएका थिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले राष्ट्र बैंकको गभर्नरका लागि अधिकारी, पूर्व अर्थसचिव राजन खनाल र डेपुटी गभर्नर सिवोकाटीको नाम सरकारलाई सिफारिस गरेको थियो । समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले सोमबार गभर्नर नियुक्त गरेको हो ।