धरान । संखुवासभाको खाँदबारीको एक विद्यालयमा कोरोना भाइरस संक्रमित उपचारका लागि निर्मित आइसोलेसन तोडफोड गरी स्वास्थ्य सामग्री चोरी भएको आरोपमा क्याम्पस प्रमुख नै पक्राउ परेका छन् ।

जिल्ला अस्पताल खाँदबारीले दिएको किटानी जाहेरीको आधारमा हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले एक विज्ञप्तिमार्फत जनाएको छ ।

बिहीबार आइसोलेनस तोडफोड गरी करिब १५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री चोरी भएको थियो । तोडफोड र स्वास्थ्य सामग्री चोरी भएपछि जिल्ला अस्पतालले क्याम्पस प्रमुखको नै हात रहेको भन्दै उजुरी दिएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुन्दरश्याम झाले अस्पतालको ७० पीपीई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाइडरलगायतका सामग्री चोरी भएको थियो ।

हाल आइसोलेसनमा ३ जना संक्रमित उपचाररत रहेका थिए । उनीहरूलाई जिल्ला अस्पतालले सेवा दिँदै आइरहेको छ ।