भद्रपुर / भारतबाट रातीको समयमा अवैध रुपमा भित्र्याएको कपडा बरामद गरि स्थानीयले मानिससहित सशस्त्र प्रहरीमा बुझाए पनि प्रहरीले सामान राखेर मानिसलाइ छाडिदिएको घटना बाहिर आएको छ ।
झापाको दक्षिणी क्षेत्र कचनकवल ५ स्थित पाठामारी नाकाबाट दैनिक लाखौँ मूल्य बराबरको सामान नेपाल भित्रिन थालेपछि केही स्थानीयले चासो देखाएका थिए । सो क्षेत्रका केही कारोबारीको अवैध गतिविधिको बारेमा स्थानीयले प्रहरीलाइ जानकारी गराएका थिए ।
जानकारीपश्चात् स्थानीयले भारतबाट नेपाल छिर्ने पाठामारी नाकमा गोप्य रुपमा सामान समाउन बसिरहेको अवस्थामा गएराति साढे १२ बजे तिनजनाले टाउकोमा बोकेर तीनपोका कपडा ल्याउदै गरेको अवस्थामा हो –हल्ला गरेर नियन्त्रणमा लिइ ती युवाले प्रहरीलाइ खबर गरेका थिए । पाठामारीमा रहेको सशस्त्रको फर्वाड वेस र प्रहरीचौकीबाट गएको प्रहरीलाई कपडासहित स्थानीयले नियन्त्रणमा लिएका अजय यादब र च्यारु यादवलाई समेत प्रहरीको जिम्मा लगाए भने भारतीय कारोबारी अर्जुन हलुवाई भारततर्फ भागेका थिए ।
घट्नापछि स्थानीय केही युवाहरुले हामी नआएसम्म मानिस नछाडने भन्दै प्रहरीलाइ जिम्मा लगाएका थिए । कपडा सहित मानिसलाइ सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट केचना पठाएका थिए । तर उनीहरुलाई वडा नम्बर ५ का वडाअध्यक्ष महेशलाल गणेशको रोहवरमा छाडिएको थियो । प्रहरीबाट छुटेका उनीहरुले राति नै गाउँमा गएर सामान समाउने तिमीहरु को हौ भन्दै २०।२५ जनाको समूहले धम्काएको पीडितको भनाइ छ । सो नाकामा मुख्य कारोबारी ‘गोशखुवा’ भन्ने महमद्ददिन मियाँले चौपाया, युरिया मल,पैसा लिएर मानिस ओसार पसार गर्ने लगायतमा संलग्न हुने गरेको स्थानीयको दाबी छ । ती व्यक्ति रातभर घरमा नहुने गरेको उनीहरुले बताए । तस्करीमा सहयोग पुर्याएको भन्दै पाठामारीमा कार्यरत जनपथका सइ सुमेन्द्र विश्वकर्मा र शसस्त्रका इन्स्पेक्टर आनबहादुर गुरुङ्लाइ केही दिन अघि प्रहरीले तानेको थियो । त्यसपछि हाल सो नाकामा कार्यरत सशस्त्रका सई श्याम लिम्बू र जनपथका असई अर्जुन सापकोटासँग तस्करी भइरहेको विषयमा स्थानीयले पुनः छलफल गरेका थिए । स्थानीयले साथ दिएमा सामान बरामद गरिने प्रहरीले जनाएका थिए ।
छलफलपश्चात् अवैध गतिविधि रोक्न स्थानीय केही युवा कारोबारीको विरुद्धमा लागेपछि सामान बरामद गरेका थिए । त्यसैगरी किसानको नाम लिएर पाठामारीका केही कारोबारीले युरिया मलको काम गरिहेको स्थानीयको भनाइ छ । भारतमा ३ सय प्रतिबोरा मर्ने मल नेपालमा २५ सय रुपैयाँसम्म बिक्री हुने गरेको पाइएको छ । किसानका लागि हो भने किन अन्य नाकाभन्दा पाठामारीबाट मात्र रातको १ हजार बोरासम्म युरिया मल छिर्छ त उनीहरुले प्रतिप्रश्न गरे । तस्करीका विषयमा उच्च प्रहरी देखी सादा पोशाकका प्रहरीलाइ समेत जानकारी गराउँदा वास्ता नगरेको उनीहरुको भनाई छ ।
मजदुरी गर्ने मानिस भएकोले उनीहरुलाइ मेरो जिम्मामा छुटाएको वडाअध्यक्ष गणेशको भनाइ छ । आर्थिक अवस्था न्युन भएका कारण परिवारको विचल्लीलाइ ध्यानमा राखेर छुटाइएको उनको भनाइ छ ।

कपडा मात्र बरामद भएको सशस्त्र प्रहरी केचनाका इन्सपेक्टर भक्त बहादुर थापाले जनाए । तीन पोकामा रहेको ३९ हजार ५ सय ५० रुपैयाँ मूल्याङकन गरी सोमबार भद्रपुर भन्सार बुझाइएको उनले जानकारी दिए ।
बाहुण्डाँगी र केचनाबाट सुपारी तस्करी
केचनाको नाकाबाट सुपारी भारत पठाउने र सुर्तीजन्य पदार्थ नेपाल ल्याउने काम भइरहेको छ । रातमा ३ सय बोरासम्म वारपार हुने जनाइएको छ । भारतमा ८ हजार प्रतिबोरा पर्ने खैनी नेपालमा २४ हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको स्थानीयको भनाइ छ । एकसय भन्दा बढी मानिसले राति यो काम गर्ने गरेको स्थानीयको भनाइ छ ।
त्यसैगरी झापाको उत्तरी क्षेत्र पिलर नम्बर २३ र २४ भृकुटी सुमन चोक छेउको हाइस्कुल हुदै तिरीङ भन्ने स्थानबाट राति ११ देखी ४ बजेसम्ममा सुपारी भारत जाने गरेको छ । वाहुण्डाँगीका एक व्यापारीको घरमा गोदाम रहेको छ । त्यस्तै वाहुण्डाँगी र नकलबन्दा बिचको राइसिङ र चारु गौडा पिलर नम्बर २६ र २७ को बिचबाट पनि सुपारीको काम हुने गरेको छ । सो क्षेत्रमा सुपारी तार्न एक डेढ सयको हाराहारीमा लेवर खटिने गरेका छन् ।
यस्तो अवस्थामा सुपारीको काम हुनै नसक्ने जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण प्रसाद कोइरालाले दाबी गरे । सवै नाकमा प्रहरीको सकृयताले साउन महिनामा मात्र ५३ लाख भन्दा बढीको अवैध सामग्री बरामद गरिएको उनको भनाइ छ । ‘प्रहरीको सकृयताले राजस्वमा बृद्धि आएको हो’ ‘तस्करी बढेको हैन’ उनले सकरात्मक बुझ्न सुझाए ।