सुनसरीमा प्रेम सम्बन्ध, मदिरा सेवन, रिसको आवेग, भागबण्डा, पुरानो रिसइबीलगायतका कारणले घरपरिवार, साथीभाइ, श्रीमान् श्रीमती, सासू ससुराबाट हत्या हुने गरेको सुनसरी प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

भण्टाबारी/मोबाइलको पार्टपुर्जा लिन भनी घरबाट हिँडेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का गुणराज यादवको गत साउन २९ गते राति हत्या भयो ।
गाउँका धेरै युवतीसँग प्रेम सम्बन्ध राखेको भन्दै २१ वर्षीय गुणराजको पाँचजनाले सामूहिक रूपमा मिलेर हत्या गरे । साउन २९ गते हत्या भएको उनको हातखुट्टा बाँधेर बोरामा हालेर फालिएको अवस्थामा सुनसरी खोलामा शव भेटिएको थियो ।

गाउँमा मोबाइल मर्मत पसल सञ्चालन गर्दै आएका गुणराज मोबाइलको पार्टपुर्जा लिन भनी साउन २९ गते बिहीबार दिउँसो हिँडेकोमा शुक्रबार बिहानसम्म घर नआएपछि उनको खोजीकार्य शुरु गरिएको थियो । खोज्दै जाँदा घरदेखि केही मिटरको दूरीमा रहेको घन्सीबारीमा रगत जमेको स्थान र चप्पल देखेपछि गुणराजका आफन्त र गाउँलेहरूले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट इन्स्पेक्टर सरोज खनाल नेतृत्वको प्रहरी टोलीले रगत जमेको र चप्पल फेला परेको स्थानमै हत्या गरिएको पत्ता लगायो ।

त्यही दिन गुणराजसँगै इनरुवा गएका शिवकुमार मेहतालाई प्रहरीले नियन्त्रणमा लिएपछि मेहताको सूचनाको आधारमा थप चारजनालाई पक्राउ परे । हत्या अनुसन्धानमा खटिएका इन्स्पेक्टर खनालले गुणराजको गाउँका धेरै युवतीसँगको प्रेम सम्बन्धका कारण हत्या भएको बताउँछन् । ‘त्यसरी गुणराजले प्रेम सम्बन्ध राखेका युवतीहरूमध्ये हत्या आरोपीका कोही छोरी, कोही प्रेमिका त कोही बहिनीलगायत पर्ने देखियो’ –उनले भने ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–७ सिनुवारी बस्ने २५ वर्षीय मिथुन उराँव र उनकी पत्नी प्रमिला उराँवबीच घरायसी सानोतिनो कुराले विवाद हुने गथ्र्यो । दिनहरू बित्दै जाँदा उनीहरूबीच मतभिन्नता यहाँसम्म पुग्यो कि श्रीमती प्रमिलाका बाबुआमाले ज्वाइँ मार्ने योजना बनाए ।

प्रमिलाले आमा छवनीदेवी उराँव र बाबु रामदेव उराँवको योजनाअनुसार असार ३ गते बिहान ११ बजे श्रीमान् मिथुनलाई माइती ल्याइन् । ज्वाइँ र छोरीबीच बेलाबखत हुने झै–झगडाले सम्बन्ध बिग्रेका कारण प्रमिलाका माइतीपक्ष रुष्ट थिए । त्यसैले ज्वाइँ मार्ने निष्कर्षमा पुगेका थिए, छवनीदेवी र रामदेव । र, त्यसमा साथ दिइन् मिथुनकी श्रीमती प्रमिलाले । योजनाअनुसार नै प्रमिलाले श्रीमान् मिथुनलाई असार ३ गते माइती पु¥याएर आफू भने त्यही दिन राति ९ बजे घर फर्केकी थिइन् । पूर्वयोजना अनुसार सासू ससुराले ज्वाइँ मिथुनलाई रक्सी सेवन गराई मताएको अनुसन्धानबाट देखियो ।

ज्वाइँ मिथुन, छिमेकीहरू अजय र अरबिनलाई रक्सी खुवाई छवनीदेवी र रामदेवले ज्वाइँ मारेबापत छिमेकी दुवैलाई २५ सयका दरले दिने आश्वासन दिई मिथुनको हत्या गराएको अनुसन्धानबाट खुलेको सुनसरी प्रहरीले बतायो । मिथुनका सासू ससुराले छिमेकीहरूलाई रक्सी खुवाएर मताउँदै २५ सयका दरले रुपैयाँ दिने प्रलोभनमा पारी आफ्नै ज्वाइँको हत्या गराएको प्रहरीले निष्कर्ष निकाल्यो ।

मिथुनको शव सुनसरीको गढी गाउँपालिका–६ स्थित बूढीखोलाको पूर्वी किनारमा माटोले पुरिएको अवस्थामा असार ६ गते फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा उनकै श्रीमती र सासू–ससुराले हत्या योजना बनाएको खुलेको हो ।

बेलायतबाट बिदामा आएका इटहरीका २० वर्षीय रादन राईको इटहरी–२० स्थित तरहरामा जेठ १८ गते हत्या भयो । सामान्य विवाद हुँदा राईमाथि आफ्नै साथीभाइले चक्कु प्रहार गरी हत्या गरे । यसैगरी दमक घर भई सुनसरीको वराहक्षेत्रस्थित सालीको घरमा बस्दै आएका ३७ वर्षीय कमल राईको छिमेकीले हत्या गरे । हत्या गरी राईको शवलाई इक्राही जमुनाकित्तास्थित प्लटिङ जग्गामा फालिएको अवस्थामा भेटियो । रिसइबीको कारण योजनाबद्धरूपमा हत्या भएको सुनसरी प्रहरीले बतायो ।

किन बढ्दैछ आपराधिक मनोवृत्ति ?
समाजमा हुँदै आएको अपराध नियन्त्रण गर्न प्रहरीले कानूनी कठोरता बढाएको दाबी गरे पनि उल्लेखित प्रतिनिधिमूलक घटनाले आपराधिक घटना नियन्त्रण गर्न प्रहरीले थप तदारुकता देखाउनुपर्ने देखिन्छ । पछिल्लो समय सुनसरीमा प्रेम सम्बन्ध, मदिरा सेवन, रिसको आवेग, भागबण्डा, पुरानो रिसइबीलगायतका कारणले घरपरिवार, साथीभाइ, श्रीमान्–श्रीमती, सासू –ससुराबाट हत्या भएको सुनसरी प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

अपराध नियन्त्रण र अपराधीविरुद्ध प्रहरीले कठोर कदम चाल्दै आएको बताउँदै जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले सामाजिक अपराध प्रहरीले चाहेर मात्र कम नहुने बताए । ‘सामाजिक अपराध प्रहरीले मात्रै चाहेर कम हुँदैन’ उनले भने, ‘यसमा समाजका हरेक वर्ग जोडिन्छन्, प्रहरीले त्यस्ता सामाजिक अपराध कम गर्न समय–समयमा सर्वसाधारणमा चेतनामूलक कार्यक्रम गर्दै आएको छ ।’

तीन वर्षमा ६७ को हत्या, ३३ आरोपी अझै फरार
आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म ६७ जनाको हत्या भएको सुनसरी प्रहरीले जनाएको छ । ती हत्यामा संलग्न देखिएका १ सय १२ जना आरोपी पक्राउ परे पनि अझै ३३ जना फरार छन् । फरार आरोपी पक्राउ गर्न विशेष प्रहरी परिचालन गरेको प्रहरीले दाबी गरे पनि फरार अभियुक्तलाई पक्राउ गर्न सकिएको छैन ।

आर्थिक वर्ष २०७४/०७५ मा २२ जनाको हत्या भएको र हत्यामा संलग्न रहेको पाइएका ३५ जनालाई पक्राउ गरिए पनि ५ जना हालसम्म पक्राउ परेका छैनन् । यसैगरी २०७५/०७६ मा २७ जनाको हत्या भएको सुनसरी प्रहरीको तथ्याङ्क छ । उक्त कर्तव्य ज्यान मुद्दाका ४१ जना पक्राउ परे पनि २६ जना हालसम्म फरार सूचीमा छन् । त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा १५ जनाको हत्या भएको सुनसरी प्रहरीले बताएको छ ।

त्यसमा संलग्नता रहेको भनिएका २६ जना पक्राउ परिसकेका छन् भने २ जना फरार छन् । चालू आर्थिक वर्षमा भने ३ वटा हत्याका घटना भएकोमा सुनसरी प्रहरीले उक्त घटनाका सबै १० जना आरोपी पक्राउ गरी कानूनी कारबाही बढाउन सफल भएको छ ।