धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ ।

आइतबार प्रतिष्ठान आइपुगेको खोप हिजो मंगलबारबाट लगाउन सुरू गरिएको हो । हिजो पहिलो दिन प्रतिष्ठानका चारै पदाधिकारीसहित प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी र स्वास्थ्य कर्मचारी ४ सय जनालाई खोप लगाइएको स्कुल अफ पब्लिक हेल्थका एसोसिएट प्रोफेसर डा. विजय खनालले जानकारी दिए ।

यसअघि पहिलो डोज लगाएको १७ सय जनालाई ३ दिनभित्र खोप लगाइसक्ने तयारी गरिएको छ । अपुग भएमा र पहिलो डोज लगाउन छुटेकाहरूमा जिल्ला स्वास्थ्य कार्यालयसंग समन्वय गरी अस्पताल प्रशासनले व्यवस्था मिलाउने डा. खनालले बताए । 

यसअघि पहिलो डोज माघ १४ गते लगाइएको थियो । खोप लगाए पनि भाइरसको स्वरूप परिवर्तन हुन सक्ने बताउँदै उनले कोभिडबाट बच्ने स्वास्थ्य उपायहरू अपनाउन आग्रह गरे ।