विराटनगर/ प्रदेश
१ को राजधानी विराटनगरमा पछिल्लो समय दोस्रो लहरको कारोना सङ्क्रमणको दर
उच्च बनेको छ । पछिल्लो समय विराटनगरमा दैनिक सय जनाभन्दा बढी सङ्क्रमित
भेटिन थालेका छन् ।
बुधबारसम्ममा विराटनगरमा सङ्क्रमितको सङ्ख्या १ हजार
९ सय ४० पुगेको विराटनगर महानगरपालिकाको कोभिड संयोजक हैदर अलीले जानकारी
दिए । जसमध्ये ३ सय ६ जना विराटनगरका कोभिड अस्पतालहरूमा उपचाररत छन् ।
विराटनगरमा बुधबार १ सय ८७ जना सङ्क्रमित भेटिएका छन् । मङ्गलबार १ सय ६९
सङ्क्रमित थपिए । सोमबार सबैभन्दा बढी भेटियो । सोमबार २ सय २६ जना
सङ्क्रमित भेटिएका थिए । यो अहिलेसम्मको धेरै हो ।
विराटनगरभित्र भयावह
रूपमा सङ्क्रमण फैलिँदै गए पनि नियन्त्रण तथा रोकथामका लागि महानगरपालिकाको
काम सुस्त देखिएको छ । होम आइसोलेसनमा बसेका सङ्क्रमितहरूको निगरानी गर्ने
कुनै संयन्त्र नै महानगरपालिकामा बनेको छैन । महानगरपालिकाको स्वास्थ्य
शाखामा होम आइसोलेसनमा रहेका सङ्क्रमितको अभिलेख पनि राखेको छैन ।
अहिलेसम्म होम आइसोलेसनमा रहेका कति सङ्क्रमित छन्, त्यो महानगरपालिकालाई
पत्तो छैन ।
गतवर्ष (२०७६ साल) चैतमा एक जनामा सङ्क्रमण देखिनुअघि नै
महानगरपालिकाले नियन्त्रण तथा सङ्क्रमण फैलन नदिन ‘होल्डिङ सेण्टर’ देखि
होम आइसोलेसनमा रहेका व्यक्तिहरूको निगरानीको व्यवस्था गरेको थियो ।
त्यस्तै भारतका विभिन्न राज्यबाट फर्केका नेपालीहरूलाई महानगरपालिकामा होम
आइसोलेसनमा राख्ने र त्यहाँ बसेका व्यक्तिहरूको निगरानी गर्ने तथा उनीहरूको
अभिलेख राख्ने जिम्मेवारी वडाका प्रतिनिधिहरूलाई दिइएको थियो ।
तर,
दोस्रो लहरको सङ्क्रमण फैलिँदा विराटनगर महानगरपालिका सुस्त देखियो ।
क्वारेण्टाइन, आइसोलेसनको निर्माण तथा व्यवस्थापन गर्नुपर्ने, सङ्क्रमण
फैलिन नदिन कन्ट्याक्ट ट्रेसिङमा जुट्नुपर्ने स्थानीय तहहरू महामारीका बेला
सुस्त देखिएका हुन् । महामारी रोकथामका लागि सीमा क्षेत्रमा अहिले होल्डिङ
सेण्टर नबन्दा भारतबाट आएकाहरू सिधै घर जाने गरेका छन् ।
हाल्डिङ सेण्टर
बनाउने जिम्मेवारी पाएको प्रदेश १ सरकारले सक्रिय नभएका कारण भारत तथा
नेपालका अन्य जिल्लाबाट आउनेहरू सोझै घरपरिवार र समुदायको सम्पर्कमा जाँदा
समुदायस्तरमा सङ्क्रमण फैलिएको छ ।
कुनै पनि ट्राभल हिस्ट्री नभएका
सङ्क्रमितको मृत्यु हुन थालेको छ । बिहीबारसम्ममा विराटनगरमा मात्र २० जना
कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् । परीक्षण अत्यन्तै कम भएर
पनि परीक्षण गरिएकामध्ये ५० प्रतिशत हाराहारीमा सङ्क्रमण पुष्टि हुन थालेको
स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
महामारी नियन्त्रणका लागि अग्रसरता
नलिँदा विराटनगरमा सङ्क्रमणको अवस्था भयावह हुन थालेको भन्दै चिन्ता व्यक्त
गर्न थालिएको छ । ‘अघिल्लो वर्ष जिल्लामा कोही पनि सङ्क्रमित नहुँदै,
क्वारेण्टाइनमा राख्ने राहत बाँड्ने काम गरेका स्थानीय तहहरू यो पालि
मान्छेहरू धमाधम मरिरहेको देख्दादेख्दै पनि कानमा तेल हालेर बसेका छन्’
पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले भने, ‘अहिले घर–घरमा कोरोना
सङ्क्रमितहरू उपचारको आशामा बसिरहेका बेला आफ्नो जिम्मेवारीबाट पन्छिएर
जनप्रतिनिधिहरूले गैरजिम्मेवार चरित्र देखाएका छन् ।’ उनले पालिकाहरूले अरू
काम रोकेर भए पनि जनताको ज्यान जोगाउने कुरामा सक्रियता देखाउनुपर्ने बेला
आएको बताए ।
विराटनगर महानगरपालिको कोभिड संयोजक हैदर अलीले
महानगरपालिकाले सीमानाकामा कोरोना पोजेटिभ पुष्टि भएका व्यक्तिहरूलाई
आइसोलेसन सेण्टरसम्म पु¥याउन एम्बुलेन्स र महानगरपालिकाभित्र स्वाब सङ्कलन
गर्न थालिएको बताए ।
‘महानगरपालिको कोभिड हेर्ने जिम्मेवारी भर्खर पाएको
छु । केही दिनभित्र महानगरपालिकाभित्र रहेका सबै सङ्क्रमितको अभिलेखीकरण
हुनेछ’ कोभिड संयोजक अलीले भने, ‘त्यसको लागि केही दिन समय लाग्छ ।’
उनले
अहिले होल्डिङ सेण्टर बनाउने जिम्मा प्रदेश सरकारको भएको बताए । ‘होमआइसोलेसनमा बसेका सङ्क्रमितहरूले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा परामर्श
लिनको लागि हामीले विराटनगरका चिकित्सकको नाम र नम्बर पनि उपलब्ध गराएका
छौं । कसैलाई स्वास्थ्य परामर्श लिनुपर्दा सिधै डाक्टरसँग सम्पर्क गरी
परामर्श गर्ने वातावरण बनाएका छौं ।’ यो वर्ष स्थानीय तहले कोरोना
नियन्त्रणका लागि पर्याप्त बजेट नहुँदा प्रभावकारी काम नभएको
महानगरपालिकाले जनाएको छ ।