विजयपुर । धरान उपमहानरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापन गर्न ‘मुक्ति घाट’ लाई सिफारिस गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको धरान–१४ को डिजेल शवदाह गृहमा शव जलाउन स्थानीयले अवरोध गरेका थिए । अवरोध गरेपछि उपमहानगरले सर्वदलीय एक ‘वैकल्पिक शवदाह स्थल खोजी समिति’ बनाएको थियो ।
धरान–१५ का अध्यक्ष नरेश इवारामको संयोजकत्व रहेको समितिले वैकल्पिक शवदाह स्थल खोजी गरी सिफारिस गरेको हो ।
समितिले तल्लो पानवारी जाने सेउती पुल दक्षिणपट्टि बाँझगरा सामुदायिक वनमा रहेको ‘मुक्ति घाट’ लाई सिफरिस गरेको उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत तथा समितिका सदस्य–सचिव गणेश खतिवडाले जानकारी दिए ।

उनले सेउती खोलाको किनारमा रहेको पानवारी सामुदायिक वनको ‘मुक्ति घाट’ लाई वैकल्पिक शवदाह स्थल सिफारिस गरेको जानकारी दिए ।
उनले शनिबार संयोजक इवारामको अध्यक्षतामा सामुदायिक वनका पदपदाधिकारीसहित बसेको बैठकले उक्त स्थानलाई सिफरिस गर्ने निर्णय गरेको हो ।
समितिले शवदाह स्थलमा तत्काल आवश्यक भौतिक पूर्वाधार खानेपानी, बिजुली, दाउरा, मलामीघरलगायत व्यवस्थापन गर्न सिफारिस गरेको खतिवडाले जानकारी दिए ।
उनले पीपीई सेनिटाइजरलगायत आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्न सिफरिस गरेको बताए । शव व्यवस्थापन वा जलाउने व्यक्ति व्यवस्थापन गर्न पनि सिफारिस गरेको जानकारी दिए ।