यासोक/पाँचथरको कुम्मायक गाउँपालिकामा परीक्षण गरिएकामध्ये ४३ प्रतिशतमा कोरोना देखिएको छ ।
यसले गाउँ पनि सुरक्षित नभएको देखाएको छ । कुम्मायक गाउँपालिकामा शुक्रबार १४ जनाको एन्टिजेनमार्फत कोरोना परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो । परीक्षणको आधारमा यो ४२ दशमलव ८५७ प्रतिशत हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीका अनुसार कुम्मायक—१ स्थित सिम्लेमा ७ जनाको परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको थियो ।
एउटै टोलमा यसमात्रामा कोरोना संक्रमित देखिनु निकै डरलाग्दो अवस्था रहेको अधिकृत अधिकारीले जानकारी दिए । त्यस्तै गाउँपालिकामा कार्यरत ७ कर्मचारीको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको छ ।
गाउँघरमा संक्रमित देखिएपछि उच्च सर्तकता अपनाउन आग्रह गरिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ बताए ।

संक्रमण देखिनु केहीदिनअघि मात्रै गाउँमा विवाह र भोज भएको बताइन्छ । विवाहमा संलग्न पाँचजनालाई संक्रमण देखिएको कुम्मायक १ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीले बताए । उनीहरुमा ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएपछि परीक्षण गरिएको थियो ।
गाउँपालिकामा संक्रमित संख्या बढेपछि आपत्कालीन बैठक बस्दै स्वास्थ्य परामर्श तथा राहतका कार्यक्रम सुरु गरिने भएको कोरोना रोकथाम तथा न्यूनीकरण समिति संयोजक तथा गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । परीक्षणको दायरा बढाउने, संक्रमित नागरिकको रेखदेख गर्ने, फिदिम—यासोक सडकखण्ड बन्द गर्नेजस्ता निर्णय गरिएको छ ।
गाउँपालिका र वडाबाट हुने अत्यावश्यक सेवा पनि जेठ १७ गतेसम्मका लागि बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।