संखुवासभा । जिल्लाको मकालु गाउँपालिकालाई संखुवासभा लर्निङ ग्राउण्ड र केटिके बेल्टले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । गाउँपालिकाको केन्द्र नुमस्थित ५ नं. वडा कार्यालयको हलमा आयोजित एक कार्यक्रमका बीच ४ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
बिहिबार संखुवासभा लर्निङ ग्राउण्डका अध्यक्ष एवम् केटिके बेल्टका सदस्य कर्मा भोटियाले गाउँपालिका प्रमुख लगायतका पालिका परिवारलाई हस्तान्तरण गरेको हो । गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर (१० लि.) २ थान, फेस सिल्ड १०० ओटा, पल्स अक्सिमिटर १२ थान, थर्माेमिटर १२ वटा, केएन ९५ मास्क ५० पिस, सेनिटाईजर (१ लि.) १२ बोतल, पिपिई सेट ३० सेट र आईसोलेशनका विरामीहरुको लागि नगद ३० हजार रुपियाँ उपलब्ध गराएको संखुवासभा लर्निङ ग्राउण्डका संखुवासभा जिल्ला संयोजक मिक्मा तेम्बा लामाले बताए ।
कोरोना महामारी गाउँ गाउँमा संक्रमण भईरहेको समयमा स्वास्थ्य संस्थामा आवश्यक स्वास्थ्य समाग्री नहुँदा समस्या हुने भन्दै समाग्री हस्तान्तरण गरिएको हो । समाग्री हस्तान्तरण गर्दै अध्यक्ष कर्मा भोटियाले कोरोना मात्र नभई अन्य विरामीहरुलाई सहज उपचारमा सहयोग पुग्ने बताए ।
गाउँपालिका अध्यक्ष तेज बहादुर पोख्रेलले सामाग्री बुझ्दै यस्ता महामारीको समयमा सहयोग गर्ने संस्थाको साथको लागि धन्यवाद दिए । उनले स्थानीय सरकारको सिमित श्रोत साधानबाट जतिसक्दो स्वास्थ्य सेवा प्रदान गरिरहेको र सेवामा थप गर्नको लागि सहयोग गर्ने दातृसंस्थाको सहयोगको भरपुर उपभोग गर्न सबै संयन्त्र परिचालन गर्ने बताए ।

संस्थाको तर्फबट मकालु र भोटखोलामा बराबर स्वास्थ्य सामाग्री सहयोग गर्ने कार्यक्रम रहेको छ । संखुवासभा लर्निङ ग्राउण्डले विगत ८ बर्षदेखि भोटखोला र मकालुको विभिन्न क्षेत्रमा जैविक साँस्कृतिक विविधताको संरक्षण, जिविकोपार्जन र पर्यपर्यटनसम्बन्धी काम गरिरहेको छ ।