विराटनगर । विराटनगर – १३ मा रहेको तयारी पोशक उत्पादन गर्ने ट्राइकोट इण्डस्ट्रिज प्रा. लि. का प्रमख कार्यकारी अधिकृत (सिइओ) सञ्जय चाण्डोकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उद्योगमा कार्यरत श्रमिक महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
करिब ३ सयको संख्यामा भेला भएका श्रमिकहरूले सिइओ चाण्डोकले महिला मजदुरहरूलाई यौन दुर्व्यवहार गर्नुको साथै पुरूष श्रमिकहरूलाई कामबाट निकाल्ने धम्कि दिने गरेको भन्दै कारवाहीको माग राख्दै आन्दोलित भएका थिए ।
इलका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश राउतसहित मोरङ प्रहरीबाट थप प्रहरी फोर्स ल्याएपछि चाण्डकलाई प्रहरीले पक्राउ गरेको हो ।

नियन्त्रणमा लिएको सिइओलाई पक्राउ गरि अहिले जिल्ला प्रहरी कार्यालय ल्याएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । ‘श्रमिकहरू आन्दोलित भएपछि हामीले उद्योगका सिइओलाई नियन्त्रणमा लिएका छौं,’ एसपी जिसीले भने, ‘अहिले हामीले अनुसन्धान सुरू गरेका छौं ।
पीडित भएका व्यक्तिहरूलाई पनि हामीले बोलाएका छौं ।’ थप विषय अनुसन्धान पछि खुल्ने उनले बताए । ‘सिइओदेखि कति मान्छे पीडित भएका छन् । त्यो पछि खुल्नेछ,’ एसपी जिसीले भने ।
उद्योगमा कार्यरत श्रमिक महिलाहरुलाई पटक पटक दुव्र्यवहार गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको धिरज बिष्टले बताए । ‘श्रमिकहरूलाई पटक–पटक सिइओले दुव्र्यवहार गरेपछि बाध्य भएर हामी आज ठूलो संख्यामा मजदुरहरू आन्दोलनमा उत्रिनु पर्यो,’ उनले भने, ‘सिइओ चाण्डकले उद्योगमा काम गर्ने मजदुरलाई अनआवश्यक रूपमा दुःखु दिएर हैरानी बनाएका छन् ।
सिइओले दिएको पीडा सहन नसरे उद्योगमा कार्यरत करिब ३ जय जना श्रमिक आन्दोलनमा उत्रिनु परेको हो ।’ यहाँ कार्यरत श्रमिकहरूले दुव्र्यवहार गर्ने सिइओलाई हटाएर प्रशासनले कारवाही गरिनुपर्ने र उद्योगले श्रम ऐनले तोके अनुसारको सेवा सुविधा लिनुपर्ने माग पनि राखेका छन् ।
सिईओ भारतीय नागरिक हुन् । चाण्डोकले उद्योगको एचआर (मानव संशाधन) फाँटकी महिला कर्मचारीमाथि गत जेष्ठमा दुव्र्यवहार गरेको आरोप छ ।
जेठमा मात्रै रोजगारीका लागि उद्योगमा हाँजिर भएकी २४ वर्षिय एक महिला कर्मचारीसँग सिईओ चाण्डोकले व्यक्तिगत मामलाका कुराहरु सोधखोज गर्ने, रातीराती फोन गर्ने र काममा चित्त नबुझेको भन्दै दवावमा राख्ने गरेको आरोप पीडित महिलाले गरेकी छिन् ।
उद्योगी बासुदेवसहित गोल्यान घरानाद्वारा सञ्चालित ट्राइकट इण्डष्ट्रिजका सञ्चालक शक्ति गोल्यान हुन् । अनलाइनबाटै कर्मचारीमा छनौट भएकी महिला गत जेठ ९ गतेदेखि उद्योगमा हाँजिर भएर काम गर्दै आएकी थिइन् ।
तर, सिईओले राती समेत फोन गरेर टर्चर दिदैं आफूलाई काबुमा राख्न खोजेको पीडित महिलाको गुनासो छ ।
तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको ट्राइकोट इण्डष्ट्रिजमा ३५० जना भन्दा बढी मजदुर कार्यरत छन् । त्यसमध्ये १५० को संख्यामा महिला कामदारहरु रहेको बताइएको छ ।
विगत लामो समयदेखि सञ्चालित उद्योगमा पहिले यस प्रकारको समस्या थिएन तर करिव ३ वर्ष अघि चाण्डोक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा आएपछि महिला मजदुरहरु दुव्र्यवहारमा पर्न थालेको भन्दै श्रमिक महिलाहरुले उनलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।
महिला मजदुरहरुलाई त्यहाँ कार्यरत अन्य मजदुरहरुले पनि साथ दिएका छन् ।