विराटनगर । प्रदेश १ मा चाडपर्व लक्षित सुरक्षा योजना प्रदेश प्रहरी कार्यालय विराटनगरले कार्यान्वयनमा ल्याएको छ । आउँदै गरेको दसैँ, तिहार, छठ पर्वलाई लिएर १४ जिल्ला रहेको प्रदेशमा चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।
प्रदेशभरिमा ७ हजार भन्दा बढी प्रहरी परिचालन गरेर दसैँ, तिहार, छठ पर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिने १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरुण कुमार बिसीले जानकारी दिए ।
त्यसका लागि प्रदेश प्रहरी कार्यालयले मातहतका कार्यालयहरूलाई समन्वयमा चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेको उनले बताए । ठुलो आर्थिक काराेबार हुने सुन पसल, सपिङ महल, बैङ्किङ क्षेत्रमा सादा पोसाकका प्रहरीमार्फत विशेष निगरानी बढाइने डिआइजी बिसीले जानकारी दिए ।
त्यसै गरी सीमा क्षेत्रबाट हुने चोरी पैठारी–निकासी, लागु औषधको कारोबार, भिडभाड हुने क्षेत्रमा सर्वसाधारणको धनमाल लुटिने र ठगिन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै प्रहरीले विशेष निगरानी गर्ने डिआइजी बिसीको भनाई छ ।
प्रदेशको जिल्लाहरूको विभिन्न स्थानहरूमा नियमित चेक प्वाइन्ट ड्युटी (मापसे चेकिङ सहित) राखिने व्यवस्था मिलाइएको छ । साथै विभिन्न स्थानहरूमा ट्राफिक सहितको संयुक्त चेकिङ गरिने छ भने सीमा नाकाहरूमा चोरी तस्करी नियन्त्रण गर्नका लागि पनि प्रहरी परिचालन गरिनेछ । बजार एरिया र राजमार्गहरूमा हुने गतिविधिलाई सहज बनाउन पिकेट स्कर्टिङ मोबाइल गस्ती पनि परिचालन गरिने छ ।
आर्थिक कारोबार हुने स्थान,धार्मिक तथा पर्यटक स्थलहरूको सुरक्षा व्यवस्थापन गरिएको छ ।
चाडबाडको समयमा जुवा तास, मापसे गरी झै(झगडा,आपराधिक घटना, सवारी दुर्घटनाका घटनाहरू र बैङ्क तथा वित्तीय सङ्घ–संस्था लगायतका क्षेत्रहरूलाई लक्षित गरी चोरी, डकैती, लुटपाट, गुण्डागर्दी, पाकेटमार जस्ता आपराधिक गतिविधि निस्तेज र निरुत्साहित गर्नका उक्त, योजना तयार गरिएको डिआइजी बिसीले जानकारी दिए । प्रदेश प्रहरी कार्यालयले प्रदेश तथा मातहत कार्यालयहरूमा चाडपर्व अवधिभर सादा पोसाक र गस्ती जस्ता कार्यहरू पनि बढाउने उनले बताए ।