विराटनगर । मोरङको धनपालथान गाउँपालिका कर्सियामा बैंक लुट्ने प्रयास गर्ने लुटेराहको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
दुई जना भारतीयसहित तीन जनालाई प्रहरीले नेपाल भारत सीमा नाका मोरङको धनपालनथा गाउँपालिका २ खैरवनादेखि सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक र एक जना नेपाली छन् । नेपाली विराटनगर घर भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
पक्राउ परेको लुटरा समूहको नाम प्रहरीले अहिले गोप्य राखेको छ । उनीहरूलाई अहिले इलका प्रहरी कार्यालय रंगेलीमा राखेर अनुसन्धान सुरू गरेको छ ।

सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए, त्यसक्रममा गार्डलाई लुटेरा समूहले चलाएको गोली लागेको छ ।
उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गर्ने क्रममा प्रहरीले पनि गोली चलाएको छ । पक्राउ परेकामध्ये एक जनाको तीघ्रामा गोली लागेको सुरक्षा स्रोतले जानकारी दिए ।
गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जर्नादन जिसी, डिएसपी मन्जिल मुकारूङ घटनास्थलमा छन् । अहिले घटनाको अनुसन्धान भइरहेको एसपी जिसीले जानकारी दिए । उनले तीन जना पक्राउ परेको जानकारी दिएका छन् ।