जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग बिवाह गरेको छ ।

विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिएको छ । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गर्नु भएको थियो भने आफ्नी बहिनीलाई अँगालो हालेको थियो ।

जापानको शाही परिवार सम्बन्धी नियमअनुसार उनले सर्वसाधारणसँग विहे गरेसँगै उनको राजकीय पद पनि गुमेको छ । विश्वविद्यालयमा सँगै पढेका साथीसँग सुरु भएको राजकुमारी कोकोको प्रेमसम्वन्ध मंगलबारदेखि बैवाहिक सम्वन्धमा रुपान्तरण भएको हो । उनीहरुको मगनी गत सन् २०१७ मा भएपनि बिवाहको मिति तय भएको थिएन ।

जापानका राजा नारुहितोकी ३० बर्षिया भतिजी माकोले उही उमेरका केइ कोमुरोसँग विवाह गरेको हो । उनका पति अमेरिकास्थित एउटा ल फर्ममा काम गर्दै आएको हो ।

बिवाहपछि राजकुमारी माको पनि अमेरिका जाने भएको छ । उनीहरुको विवाहमा राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि अवलम्बन गरिएको छैन् भने उनले राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि त्याग्नु भएको छ ।

यी दुवै कुरा परित्याग गर्ने उहाँ जापानको राजपरिवारकी प्रथम महिला सदस्य भएको बताइएको छ । राजपरिवारकी सदस्यले सर्वसाधारणसँग बिवाह गर्न लागेको भन्दै उनीहरुको बिवाहका बारेमा टिकाटिप्पणी हुदै आएको थियो ।

विरोधकाबीच पनि शाही पदवीसमेत गुमाएर राजकुमारी माकोले सर्वसाधारण एक युवासँग विवाह गरेको विषय विश्वभरी भने सकारात्मक चर्चाको विषय भएको छ ।