पथरी । मोरङको पथरीशनिश्चरे–१० स्थित रंगशालामा सुरु भएको पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भाउन्ने एफसीले विजयी सुरुवात गरेको छ ।
थ्री रिभर्स एफ.सी.अमेरिकाको आयोजनामा भएको उद्घाटन खेलमा शिवसताक्षी एफसी झापालाई २—१ गोलअन्तरले पराजित गर्दै भाउन्ने दोस्रो चरणमा प्रवेश गरेको हो । खेलको २१ औ मिनेटमा भाउन्नेका तर्फबाट सन्तोष न्यौपानेले गोल गर्दै अग्रता बनाए । २७ औ मिनेटमा शिवसताक्षीका मनिष लिम्बूले गोल फर्काउदै बराबरी गरे ।
दोस्रो हाफको अन्तिम ५५ औं मिनेटमा पुनः सन्तोष न्यौपानेले नै दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । खेलको म्यान अफ दी म्याच भाउन्नेका सन्तोष न्यौपाने घोषित भए । भोलि (बिहीबार) को खेल बिराटनगर एफसी र भुटानी ब्वाइज क्लबबीच हुने आयोजक समितिको संयोजक गणेश थक्लुङ्ग लिम्बूले बताए ।
खेलको उद्घाटन पथरीशनिश्चरे नगरकी उपप्रमुख यमुना बिष्ट बास्तोलले गरिन् । झापा, मोरङ र सुनसरी गरी १० टिम सहभागी छ । विजेताले नगद एक लाख एक हजार र दोस्रोले नगद ५१ हजार रुपैयाँ पाउने जनाइएको छ ।