नेपालमा रोजगारयुक्त कलकारखाना, उद्योगधन्दा धेरै सङ्ख्यामा खुलेका छैनन् । खुलेका कलकारखाना, उद्योगधन्दा पनि विविध कारणले बन्द हुँदै गएका छन् । रोजगारको अभाव वा नेपालमा भन्दा बढी सुविधा तथा तलबको आशाले युवाहरू विदेशिन बाध्य भएका छन् । दैनिक रूपमा हजारभन्दा बढी युवाहरू रोजगारको खोजीमा विदेश गइरहेका छन् । विदेशिएका यी युवाहरूमध्ये अधिकांशले विदेशमा काम गरेर नेपालमा पैसा पठाइरहेका छन् । युवाहरूले पठाएको रेमिट्यान्स नै हाम्रो देशको आर्थिक स्रोतको मेरुदण्ड बन्न पुगेको छ ।
नेपालमै रहेका केही व्यक्तिहरूले आफ्नै देशमा रही देशको सेवा गर्ने पवित्र उद्देश्य लिई आफ्नै लगानी र परिश्रममा निजी विद्यालयहरू खोले । यसबाट केही हदसम्म विदेशमा गएर पढ्न जाने विद्यार्थीहरू केही सङ्ख्यामा रोकिए । आफ्नै देशमा स्तरीय शिक्षा पाउन थालेपछि नेपाली विद्यार्थीहरू विदेशिन बाध्य भएनन् । नेपालमा निजी विद्यालय स्थापना पछि धेरैजसो नेपालीहरूले निजी विद्यालयमै पढाउने मौका पाए । यसरी निजी विद्यालयले विदेशमा खर्च हुने रकम रोकी नेपालमै गुणस्तरीय शिक्षा दिए । यसले धेरै नेपालीहरूलाई बेरोजगार हुनबाट बचाएको छ ।
अहिले नेपालमा दशौं हजारभन्दा बढी निजी विद्यालय रहेको पाइन्छ । त्यसमा लाखौं विद्यार्थीहरू अध्ययनरत छन् । थोरै अपवाद बाहेक सामुदायिक तथा सरकारी विद्यालयको भन्दा यी निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूको गुणस्तरीयता कायमै छ । यसको लागि विगतमा एस.एल.सी. तथा वर्तमानमा एस.ई.ई.मा विद्यार्थीहरूले पाएको सफलतालाई तुलनात्मक रूपले अध्ययन गरे पुग्छ । सरकारी सुविधा, राम्रो तलब, बेलाबखतमा पाइने तालिमबाट पोख्त भएका शिक्षक शिक्षिकाहरू सरकारी विद्यालयमा कार्यरत छन् । सरकारबाट कुनै पनि सुविधा नपाएको, तालिम पनि अप्राप्त शिक्षक शिक्षिकाहरू निजी विद्यालयमा छन् ।
तर, पनि केही अपवाद बाहेक अधिकांश निजी विद्यायहरूको परिणाम राम्रै देखिएकाले अभिभावकहरूको आकर्षण निजी विद्यालयमा बढेको पाइन्छ । हुनु त निजी विद्यालयको जस्तै देशका विभिन्न क्षेत्रका केही सरकारी विद्यालयहरूले निजी विद्यालयकै जस्तै सुविधा दिएर पढाएका छन् । कतिपयले शुल्क उठाउन नपाइए पनि सहयोगको नाममा शुल्क उठाएका पनि होलान् । ती सरकारी विद्यालयहरू नमुना विद्यालय बन्न सफल पनि भएका छन् ।
निजी विद्यालय सञ्चालन गरेर कतिपय सञ्चालकहरूले धेरै सम्पत्ति जोडे होलान् कतिले आफ्नो भएको सम्पत्ति पनि सिध्याए होलान् । अपवादको रूपमा केही विकृति, विसङ्गति, केही निजी विद्यालयमा नपाइएका होइनन्, धेरै शुल्क अभिभावकबाट उठाउने, शिक्षक शिक्षिकाहरूलाई भने दिँदै नदिने वा दिए पनि कम मात्रामा तलब दिने गरेका पनि होलान् । विगतमा र हाल पनि निजी विद्यालयलाई हेर्ने दृष्टिकोण नितान्त भिन्न छ । सञ्चालकहरूलाई शोषक, सामन्ती इत्यादि भन्ने गरिन्छ भने राज्यबाट पनि समान व्यवहार गरेको पाइन्न । राज्यको लागि कर प्राप्त गर्ने आम्दानीको स्रोत पनि अवश्य मानिएको छ, निजी विद्यालयलाई ।
निजी विद्यालयले रोजगारी, शिक्षा तथा राज्यकोषमा गरेको योगदानलाई धेरैले चटक्क बिर्सिने गर्दछन् । यो स्तम्भकार सबै निजी विद्यालयलाई राम्रो छ भनेर एउटै तराजुमा राख्न चाहँदैन, किनकि एउटै हातका औंलाहरू त फरक फरक आकारका हुन्छन् भने ती विद्यालय तथा सञ्चालकहरू पनि आ–आफ्नै विचारका हुन सक्छन् । राज्यको नियम नमान्ने, सामन्ती, शोषक इत्यादि स्वभाव भएका वा शिक्षकशिक्षिका एवम् विद्यार्थीहरूलाई दुव्र्यवहार गर्ने, आर्थिक अनियमितता गर्ने वा यौन शोषण गर्ने पनि यदाकदा हुन सक्लान्, जुन बेलाबखत छापाहरूमा पनि आएका छन् । यस्ता यौन पिशाच, आपराधिक मनोवृत्तिका निजी विद्यालयसँग सम्बन्धित जो सुकैलाई पनि राज्यको नियम कानून अनुसार सजाय वा कारबाहीको भागिदार बनाउनै पर्ने हुन्छ र बनेका पनि होलान् ।
विगतमा विभिन्न बहानामा निजी विद्यालयलाई बन्द गर्न नखोजेका होेइनन् । प्रायः सबैको आँखाको तारो भएको निजी विद्यालय भने अब सङ्कटमा परेको छ । कोरोनाको कहरको असर जताततै परेको छ । यसले निजी विद्यालयलाई नछुने कुरै भएन । कोरोनाले गर्दा शिक्षाक्षेत्र तहस नहस भएको छ । धेरैजसो निजी विद्यालय भाडामा भवन लिई सञ्चालित छन् । ती विद्यालयहरुले भाडा तिर्न सकेका छैनन् । अभिभावकहरूको रोजगारी खोसिएकाले आफ्ना नानीहरूको शुल्क तिर्न नसकी धमाधम निकाल्दै छन् र शुल्क तिर्नु नपर्ने सरकारी विद्यालयमा आफ्ना नानीहरूलाई भर्ना गराउँदैछन् भने कतिपयले पढाइ बीचैमा छाडेका पनि पाइन्छन् । कोरोनाको कहर कहिले रोकिने हो, टुङ्गो छैन ।
कतिपय निजी विद्यालयहरू अघोषित रूपमै बन्द भइसकेका छन् । कोरोनाको कारणले भर्खरै खोलिएका वा खोलिन थालेका निजी विद्यालयहरूमा अध्ययनरत सबै विद्यार्थीहरू फर्किसकेका छ्रैनन्, दशैंअघि खोल्न लागिएका यी विद्यालयहरू भौतिक रूपमा खोेलिने बेलामा यी विद्यालय तथा सञ्चालकहरूले चौतर्फी दबावको सामना गर्नु प¥यो । दशैंको शुल्क उठाउन नपाएर विद्यालय खोल्न लागे, एकैचोटि तिहारपछि विद्यालय खोलिनु पर्छ समेत भनियो ।
विद्यालय खोलेर निकै ठूलो घोटाला गर्न लागेजस्तो, कोरोनाको व्यापक उत्पादन गर्न लागे जस्तो, अभिभावकहरूको सम्पत्तिमा हमला नै गर्ने जस्तो, विद्यालयसँग सम्बन्धित सबै व्यक्तिहरू दोस्रो दर्जाको नागरिक सरह वा नेपालीहरू नै होइनन्, तिनीहरूका परिवारै छैनन् भन्ने जस्ता मनोवैज्ञानिक कुराहरू देखा नपरेका होइनन् । हुन त विद्यालय खोलिनुअघि अनलाइन कक्षा भइरहे तापनि बजार, सार्वजनिक स्थल, यातायात, पार्क, रमणीय स्थलमा विद्यार्थी, अभिभावक तथा आम जनताहरूको भीडभाड देख्न लायकको थियो । सबैतिरको विरोधका बावजुद स्थानीय निकायको निर्देशनमा बल्ल निजी विद्यालयहरू खोलिए तथापि कोरोनाको कारणले विद्यालयमा झण्डै पच्चीसदेखि कतै पचासै प्रतिशत विद्यार्थीहरूले विद्यालय छाडे ।
यसरी निजी विद्यालयलाई हेर्ने दृष्टिकोण सरकार तथा आम जनतामा यसरी नै नफेरिरहने हो, जताबाट यसरी नै निजी विद्यालयलाई पेलिरहने, कुनै किसिमको सकारात्मक सहयोग नगरिने हो भने अधिकांश साना निजी विद्यालय तथा भाडामा सञ्चालित निजी विद्यालयहरू बन्द हुन समय लाग्ने छैन । हुन त आजसम्म कसैले बन्द गर्न नसकेको निजी विद्यालयहरू कोरोनाको कारणले सङ्कटमा छन्, बन्द हुन सक्ने अवस्थामा छन् ।
यसरी बन्द हुँदा कुनै कुनै पक्ष खुसी होलान् तर, ती विद्यालयसँग सम्बन्धित शिक्षक, शिक्षिका, तिनीहरूप्रति आश्रित परिवार भने दुःखी हुनेछन्, रोजगार पाएकाहरू बेरोजगार बन्नेछन्, विभिन्न आर्थिक समस्याले पिरोलिनेछन् । बेरोजगारीको सङ्ख्या बढ्नेछ, फेरि स्तरीय शिक्षाको नाममा विद्यार्थीहरू समेत विदेशिन बाध्य हुनेछन् । यसले केही मात्रामा भए पनि ठूला विद्यालयहरूलाई पनि असर पार्न सक्दछ । यसर्थ बेलैमा सम्बन्धित निकायको ध्यान जानु अति आवश्यक भइसकेको छ ।