बिर्तामोड/ केपी ओली नेतृत्वको सरकारले बजेट रोक्का गरेर निर्माण हुन नसकेको आरोप लागेको झापाको चन्द्रगढीस्थित गिरिजाप्रसाद कोइराला (जिपी) स्मृति भवनको निर्माण कार्य अझै सुरु हुन सकेको छैन ।
शेरबहादुर देउवा नेतृत्वको सरकार निर्माण भएको ६ महिना बितिसक्दा पनि बहुउपयोगी सावित हुने यो भवनको निर्माण कार्य सुरु हुन नसकेको हो ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारलगायतका शीर्षनेताहरूले संयुक्तरूपमा २०७२ असार २८ गते सभागृहको शिलान्यास गरेका थिए ।
दई वर्षभित्रमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको उक्त भवनको निर्माण सम्पन्न हुने मिति सकिएको ४ वर्षमा पनि निर्माण कार्य अघि बढेको छैन । शीर्षनेताहरूले नै शिलान्यास गरेको बहुउपयोगी सभागृहसहितको भवन हाल अलपत्र छ । सभागृहको काम अघि नबढ्दा अधकल्चो भवनका कतिपय संरचना काम नलाग्ने अवस्थामा पुगेको छ ।
नेपाली काङ्ग्रेसका प्रदेश सभापति उद्धव थापाले राजनीतिक पूर्वाग्रहका कारण कम्युनिष्ट सरकारले बजेट उपलब्ध नगराउँदा भवन निर्माण कार्य अलपत्र परेको बताएका थिए ।
‘कम्युनिष्ट पार्टीको सरकारले बजेट नदिएर निर्माण कार्य रोकिएको हो, थापाले भने, ‘हामीले धेरै पहलकदमी लिए पनि भवनका लागि आवश्यक बजेट पाएनौं । अहिलेको सरकारले यसबारेमा सम्बोधन गर्छ भन्ने हाम्रो अपेक्षा छ ।’
थापाले प्रधानमन्त्री शेरबहादुर देउवादेखि अर्थमन्त्री जनार्दन शर्मासम्मलाई भेटेर भवन अलपत्र परेको विषयमा ध्यानाकर्षण गराएको बताए ।
प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मा नै गिरिजाप्रसाद कोइरालाको सम्मानमा निर्माण हुँदै गरेको बहुउपयोगी भवन निर्माण सम्पन्न गर्न सकारात्मक रहेको थापाले बताए । उनले बजेट पुनरावलोकन गरेर भए पनि भवन बनाउन पहल थालिने बताए ।
तत्कालीन जिल्ला विकास समिति झापामार्फत् निर्माण सुरु गरिएको सभागृह २०७४ असार १० गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौंको प्रेरा(शाह जेभीले १२ करोड ७२ लाख ६९ हजार रुपैयाँमा ठेक्का लिएको थियो । सार्वजनिक खरिद नियमावली ऐन संशोधन भएपछि भौतिक संरचना निर्माणको म्याद थप नभएका कारण सभागृह निर्माण कार्य प्रभावित भएको पाइएको छ ।
भवनको लम्बाइ ५३ मिटर, चौडाइ ३४ मिटर रहेको सभागृहको पहिलो तलामा व्यावसायिक उद्देश्यका २७ वटा कोठा, दोस्रो तलामा बैङ्क तथा वित्तीय संस्था, तेस्रो तलामा सभाका लागि एक हजार मानिस अट्ने वातानुकूलित सभाहल बन्ने तय भएको थियो ।
तर, निर्माण सम्पन्न गर्ने म्याद सकिएको चारवर्ष बितिसक्दासमेत अधुरो रहँदा भवनका निर्माण भइसकेका कतिपय संरचनाहरू काम नलाग्ने अवस्थामा पुगेका छन् ।