नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले स्थानीय तहको निर्वाचन टार्न तानाबाना बुनिरहेको बताएका छन् । शनिबार नेकपा एमाले सुनसरीको धरानमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
"नेकपा एमालेका विरुद्ध मोर्चा खडा गरेर, गठबन्धनका नाममा अदालतको सहारा लिएर राजनीतिलाई आफ्नो नियन्त्रणमा लिन खोजिरहेका छन् । " उनले भने " उनीहरू जति कोसिस गरिरहेका छन् त्यति नै जनताबाट अलगथलग भइरहेका छन् । प्रतिनिधि सभाले निर्वाचन गरेको कानुनका आधारमा स्थानीय तहको निर्वाचन अवधि सकिनु भन्दा २ महिना पहिल्यै गरिसक्नु पर्थ्यो । तर यो सरकारले स्थानीय तहको निर्वाचन सार्नका लागी अनेक षड्यन्त्रहरू तानाबाना बुन्ने खालको काम गर्दै छ । "
पोखरेलले एमाले जनाताका बिच जान खोज्दा संविधान विरोधी भनेको स्मरण गर्दै अहिले चुनाव टार्न खोजेर संविधान र कानुन विरोधी काम गरेर प्रतिगामी बाटोमा अघि बढिरहेको बताएका छन् । उनले गठबन्धन सरकारको स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाएर खाली गर्ने षड्यन्त्रलाई कुनै पनि हालतमा सफल हुन नदिने बताएका छन् ।
नेपालको कम्युनिष्ट आन्दोलनले पाएको जनदेशलाई माधव नेपालले काँग्रेसलाई बेचेको आरोप लगाउँदै पोखरेलले भने ‘माधव नेपालले कम्युनिष्ट आन्दोलनलाई प्राप्त जनमत, जनताले दिएको जनदेशलाई लगेर काँग्रेसलाई बिक्री गर्ने काम गरे । काँग्रेसविरुद्धको जनदेशलाई काँग्रेसको पाउमा समर्पण गरे, जनताको जनादेश विरुद्ध उभिएपछि अब कसैले सहानुभूति गर्नुपर्छ भन्ने छैन । ’
उनले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल कम्युनिष्ट पार्टीको नेता नभै काँग्रेसको मामुली कार्यकर्ता भएको बताउँदै अब नेपालको राजनीतिक २ ध्रुवमा अघि बढ्ने भन्दै पोखरेलले एउटा ध्रुवको नेता एमाले र अर्को ध्रुवको नेता काँग्रेस मात्र हुने, अन्य राजनीतिक दल सहयोगी मात्र हुने पनि बताए ।