प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्री मण्डल आज विस्तार गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री राईले मन्त्री परिषद् विस्तारका लागि ८ जनालाई मन्त्रीको सपथ ग्रहण गराउने तयारी गरेको हो ।

मुख्यमन्त्री राईले मन्त्री परिषद् विस्तार गर्ने र नियुक्त हुने मन्त्रीहरूले आज ११ बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ लिने कार्यक्रम रहेको  प्रदेश प्रमुख कार्यालयको सचिव तुलसीराम सेढाईंले जानकारी दिए ।

नयाँ हुने मन्त्रीमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओम सरावगी र ताप्लेजुङका प्रताप प्रकाश हाङमाङ समावेश हुँदैछन् । थापालाई वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, सरावगीलाई उद्योग, श्रम तथा रोजगार मन्त्रालय र हाङ्गामलाई भूमि तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिन लागेको मुख्यमन्त्री कार्यालयनिकट स्रोतले जनाएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) बाट खोटाङका रामकुमार राई (पासाङ) र झापाका झलकसिं दर्लामी मन्त्री बन्दैछन् । राईलाई सिँचाई, खानेपानी तथा उर्जामन्त्रालय र दर्लामीलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

यस्तै नेकपा (एकीकृत समाजवादी) बाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बन्ने निश्चित भएको छ । जसमध्ये खोटाङका राईलाई सामाजिक विकास मन्त्रालय र लिम्बूलाई पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । घिमिरेलाई थप एक मन्त्रालय विस्तार गर्दै सञ्चार तथा सहकारी मन्त्रालयको जिम्मेवारी पनि दिने तयारी गरिएको बुझिएको छ ।

गत आइतबार बसेको मन्त्री परिषद् बैठकले सात मन्त्रालयबाट मन्त्रालयको संख्या बढाएर १२ बनाउने निर्णय गरेको थियो । मन्त्रीका आकांक्षी धेरै भएपछि एक मन्त्रालय थप गरिएको छ । १६ कात्तिकमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राईको नेतृत्वमा सरकार गठन भएको थियो ।

प्रदेश १ मा नेपाली कांग्रेसबाट ५, नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री सहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १  र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना राज्य मन्त्री गरेर १४ सदस्यीय हुन लागेको हो ।

यसअघि नियुक्त आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको जिम्मेवारी यथावत राखिएको छ भने सामाजिक विकासमन्त्री रहेको जयराम यादवलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

यस्तै भौतिक पूर्वाधार विकास मन्त्री रहेका हिमाल कार्कीले सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ विष्णुमाया तुम्बाहाम्फे भने यस पटक पनि राज्यमन्त्री कै हैसियतमा रहने छिन् ।