विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाएको आरोप लगाएका छन् । मोरङको रङ्गेलीमा बुधबार आयोजना गरिएको तराई मधेश केन्द्रित जनसभालाई सम्बोधन गर्दै ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाएको बताएका हुन् । उनले मतपत्रमा हरियो नभई रातो रङ राख्नुपर्ने बताए ।
मतपत्रको रङबारे निर्वाचन आयोगको निर्णय कांग्रेसतिर झुकेको उनले बताए । ‘काँग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनायो,’ उनले भने, ‘यसको मैले विरोध गरिसकेको छु ।’ ओलीले कांग्रेसलाई सुकेको रुखको संज्ञा दिए । ‘सुकेको रुखको कुरा गर्न आवश्यक छैन, पातमात्रै झरेको छैन रूख नै सुकेको छ,’ उनले भने, ‘अब काँग्रेसमा लागेर केही काम छैन । काँग्रेस बिस्तारै बिस्तारै बुढो हुँदैछ ।’
उनले चुनाव चिन्ह हरियो राख्न नहुनेमा जोड दिए । ‘काँग्रेससँग देश बनाउने, नीति पनि छैन, विचार पनि छैन,’ उनले भने, ‘काँग्रेस एमालेको विरुद्धमा जान सक्दैन, अब काँग्रेसको दाँत मात्रै झरेको होइन रुखै सुकिसकेको छ ।’
उनले आफू प्रधानमन्त्री हुँदा दशकौँसम्म बन्न नसकेको काम भएको दाबी गरे । ‘दशकौँसम्म बन्न नसकेको नेपाल नेकपा एमालेको सरकार हुँदा तीन वर्षमा असाधारण काम अगाडि बढेको छ,’ ओलीले भने । ओलीले आफूले संसद् विघटन काम गर्न नदिएको कारण गरेको बताए ।

‘अलिअलि कमिसन खाएर देशलाई गरिब बनाइराख्नेहरू एमालेबाट आत्तिए,’ उनले भने, ‘संसद् चल्न नदिने, संसद्लाई अगाडि बढ्न नदिने, संसद्लाई काम गर्न नदिने अवस्था भएपछि हामीले जनतामा जाने अठोट गरेका हौँ । पार्टी फुटाउन खोजेपछि, सरकार ढाल्न थालेपछि, आफ्नै पार्टीका सांसदहरू बिकेर विपक्षमा मतदान गर्न थालेपछि, संसद् विघटन गर्नु हाम्रो बाध्यता थियो ।’
उनले अदालतले आफू र आफ्नो पार्टी तथा देशप्रति अन्याय गरेको पनि बताए । ‘नेपाली जनताले न्याय दिनुपर्ने भएको छ । अदालतबाट अन्याय पाएका छौँ । देशले पनि न्याय पाउनु प¥यो,’ उनले भने । ओलीले केही समय मैथिली भाषामा पनि भाषण गरेका थिए । नवप्रवेशीहरुलाई हौसला दिँदै ओलीले भर्खरै पार्टीमा आएको भनेर कुनै पनि भेदभाव नगर्ने र यथोचित जिम्मेवारी दिने बताए ।
अध्यक्ष ओलीले एमालेलाई अहिले हाइसन्चो भएको बताए । एमाले चोइटिए पनि कुनै असर नभएको उनले दाबी गरे । ‘पिलो निचोरिएको जस्तो भएको छ । एमालेमा आकर्षण बढ्दै गएको छ,’ उनले भने । अध्यक्ष ओलीले माओवादी पार्टी नभएर अन्योलको पोको भएको बताए । उनले माओवादी पार्टी नै नभएकाले नअल्मलिई एमालेमा आउन आग्रह गरे ।
‘हामीले एकैचोटी ३९६ वटा अस्पतालको सुरुआत गर्यौं, केही अहिले बनिरहेका छन्, केही बजेट अहिलेको सरकारले सारेको छ । हामीले हरेक पालिका सदरमुकाम जोड्ने २६५ सडक एकैपटक शिलान्यास गर्यौं । तीनको पनि बजेट काटिएको छ,’ अध्यक्ष ओलीले भने, ‘विकासविरोधीहरुले गर्ने भण्डाफोर भनेको यही होला ।’
मिल्ने भए सत्ता गठबन्धनका मान्छेहरुले धरहरा र रानीपोखरी पनि भत्काउने भन्दै केपी ओलीको याद आउने कुनै पनि संरचना बन्न नदिने प्रयास भइरहेको उनले बताए । ओलीले आफ्नो पालामा सडक विस्तार, निर्माण र सुरुङमार्गको काम अघि बढेको भन्दै त्यसलाई रोक्न अदालत प्रयोग गरेर आफ्नो सरकार ढालिएको दावी गरे ।
लिम्पियाधुरासहितको नेपालको गुमेको भूभाग समेटर आफूले नक्सा प्रकाशन गरेदेखि नै प्रचण्ड–माधव समूहले आफूलाई सत्ता र पार्टीबाट हटाउन षड्यन्त्र गरेको ओलीको आरोप थियो ।