धरान । चुनावको नतिजा सार्वजनिक हुनासाथ स्वतन्त्रबाट उम्मेदवारी दिएका नवनिर्वाचित धरान उपमहानगरप्रमुख हर्कराज साम्पाङले तीन दिनअघि खानेपानीलाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताएका थिए । तर, मङ्गलबार भने उनले खानेपानीको कुनै प्रस्तावमा हस्ताक्षर नगरी अर्कै विषयमा पहिलो हस्ताक्षर गरे ।
उनले गरेको पहिलो हस्ताक्षरमा विषय थियो, धरानको कर सङ्कलन प्रणालीलाई वैज्ञानिक बनाउन एक अध्ययन कार्यदल गठन गर्ने । नवनिर्वाचित साम्पाङले औपचारिक रूपमा पदभार ग्रहण गरेपछि अर्कै विषयमा पहिलो पटक हस्ताक्षर गर्दा खानेपानीको मुद्दालाई किन पहिला प्राथमिकतामा राखेनन् ? भन्ने विषयमा खासखुस चलेको थियो । खानेपानी आयोजना सुरु भएदेखियता उनले तीव्र असन्तोष व्यक्त गर्दै आएको विषयमा पहिलो हस्ताक्षर नगरेर करको विषयमा गरे ? धरानमा खुल्दुलीको विषय बनेको छ । धेरैलाई लागेको थियो, प्रमुख साम्पाङको पहिलो हस्ताक्षर खानेपानी विषयमा हुने छ । तर, त्यस्तो भएन ।
यसअघिका नगरप्रमुख तिलक राईले पदभार ग्रहण गरेपछि करिब २७ महिनाअघि कर घटाउनका लागि कार्यदल गठन गर्ने प्रस्तावमा हस्ताक्षर गरे तर देखिने गरी कर प्रणालीसम्बन्धी कुनै काम अगाडि बढाउन सकेनन् । उनी रनभुल्लमा परे वा नगरपालिकाका कर्मचारीले पारे यसै भन्न सकिने अवस्थामा छैन ।
यता मङ्गलबार पदभार ग्रहण गरेर नयाँ प्रस्तावमा निर्णयार्थ हस्ताक्षर गर्ने बेलामा प्रमुख साम्पाङको टेवलमा फाइल नै राखिएको थिएन । सञ्चारकर्मीहरूले के प्रस्तावमा प्रमुखले पहिलो हस्ताक्षर गर्दै हुनुहुन्छ भनेर खोजिनिति गरेपछि करिव आधा घण्टा पछि नगरपालिकाका कर्मचारीहरूले कर प्रणालीलाई वैज्ञानिक बनाउने प्रस्तावको फाइल तेस्र्याएका थिए ।

कर्मचारीहरूले करसम्बन्धी विषयमा उठाएको टिप्पणीको फाइलमा हस्ताक्षर गरेका प्रमुख साम्पाङले भने, ‘धरानमा वैज्ञानिक कर प्रणाली लागु गर्नेगरी कार्यदल गठन गर्ने र कार्यदलले अध्ययन गरेर सुझाव पेश गर्ने छन् । कार्यदलले धरानको कर वैज्ञानिक भए नभएको, आयस्रोतहरूको पहिचान गर्ने र दररेट निर्धारणको लागि अध्ययन गरी सुझाव दिनेछ ।’
सुझाव कार्यदलको संयोजकमा उपप्रमुख अइन्द्रविक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजश्व महाशाखा प्रमुख छन् । फाइलमा हस्ताक्षरपछि उनले आफू स्वतन्त्र उम्मेदवारको रूपमा चुनावमा उठेर धरानको मेयर पदमा जितेर आए पनि सबै राजनीतिक दल, सङ्घ–संस्था र नागरिकसमाजकै सल्लाह सुझाव र सहकार्य समन्वय गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘सबै मिलेर धरानको विकास निर्माण गर्ने, उन्नत सहर बनाउने छौं । धरानमा अहिले विभिन्न समस्या र चुनौतीहरू पनि बढिरहेको छ । हामी मिलेर नै ती विभिन्न समस्या र चुनौतीको सामना गर्नेछौं ।’
उनले धरानको जनताको विश्वास कायम गर्न धेरै काम गर्नुपर्ने बताए । आफू एक्लैले मात्र काम गर्न नसक्ने उल्लेख गर्दै भने, ‘सबैको सहकार्य विना म एक्लैले गर्न सक्दिनँ ।’ सञ्चारकर्मीहरूले सोधेको अर्को जिज्ञासामा उनले खानेपानी समस्या तत्काल समाधान गर्न उत्पादन बढाउन र स्रोत बढाउन, लिकेज रोक्न र मर्मत सम्भारको काम सुरु गर्ने बताए । उनले भने, ‘धरान उपमहानगरपालिकाले नगरबासीलाई दिने सेवालाई चुस्तदुरुस्त बनाएर ‘स्थानीय सरकार छ है’ भन्ने अनुभूति दिलाउनेछौं ।’
धरानको कार्यपालिकामा स्वतन्त्र उम्मेदवार प्रमुख भएर आए पनि अहिले चुनिएर आउने अन्य दलीय जनप्रतिधिहरूसँग सहमति, सहकार्य र समन्वय गरेर धरानको विकास निर्माणमा जुट्ने साम्पाङले बताए ।