आगामी आइतबार विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ ।  विश्वकपको फाइनलका दिन उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमध्ये गोल्डेन बुट, गोल्डेन बल, गोल्डेन ग्लोभ्स र योङ प्लेअर अवार्ड कसले पाउलान् ? भन्ने चासो पनि खेलप्रेमीलाई उत्तिकै हुन्छ ।

प्रतियोगिताभरि सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई गोल्डेन बुट प्रदान गरिन्छ । एकभन्दा बढी खेलाडीले समान गोल गरेमा गोल असिस्ट (गोल गर्न अर्को खेलाडीलाई सहयोग गरेको) गणना गरिन्छ ।

गोल र असिस्ट पनि समान भए विश्वकपमा कम समय खेलेको आधारमा विजेता छानिनेछ । धेरै गोल गर्नेमा दोस्रो हुनेले सिल्भर बल र तेस्रो हुनेले ब्रोन्ज बल पाउनेछन् । यसपटकको विश्वकपमा गोल्डेन बुटको होडमा भने चार खेलाडी छन् । जसमा अर्जेन्टिनाका २ र फ्रान्सका २ जना छन् ।

अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी र फ्रान्सका किलिएन एमबाप्पेले सर्वाधिक ५ गोल गरेका छन् भने फ्रान्सकै ओलिभर जिरुड र अर्जेन्टिनाका युलियन अल्भारेजले समान ४ गोल गरेका छन् । सम्भवतः यी चारमध्ये एक खेलाडीले गोल्डेन बुट जित्नेछन् । यस्तै एक जनाले सिल्भर र एक जनाले ब्रोन्ज बल जित्नेछन् ।

सेमिफाइनलको खेलपछि अर्जेन्टिनाका कप्तान मेस्सी गोल्डेन बुटको होडमा सबैभन्दा अगाडि छन् । नकआउट चरणको क्वार्टरफाइनल र सेमिफाइनलमा एमबाप्पेले गोल गर्न नसकेपछि मेस्सीले उनलाई भेट्टाएका छन् । मेस्सी र एमबाप्पेले समान ५ गोल गरेका छन् तर, असिस्टमा मेस्सी अगाडि छन् । मेस्सीले ३ गोल असिस्ट गर्दा एमबाप्पेले २ असिस्ट गरेका छन् ।

३५ वर्षीय मेस्सीले अहिलेसम्म खेलेका ६ मध्ये ५ खेलमा गोल गरेका छन् । समूह चरणमा साउदी अरेबियासँग पेनाल्टीबाट पहिलो गोल गरेका मेस्सीले मेक्सिको विरुद्ध एक गोल र एक असिस्ट गरे । पोल्याण्डविरुद्ध भने मेस्सीले पेनाल्टीमा पनि गोल गर्न सकेनन् ।
मेस्सीले अन्तिम १६ मा अष्ट्रेलियाविरुद्ध गोल गरेका थिए । यस्तै क्वार्टरफाइनलमा नेदरल्याण्ड्स र सेमिफाइनलमा क्रोएसियाविरुद्ध मेस्सीले १ गोल र १ असिस्ट नै गरे ।

२३ वर्षीय युवा स्टार एमबाप्पेले समूह ‘डी’ को पहिलो खेलमा अष्ट्रेलियाविरुद्धको खेलमा गोलको खाता खोलेका थिए भने दोस्रो खेलमा डेनमार्कविरुद्ध दुई गोल गरे ।

समूह चरणको तेस्रो खेलमा ट्युनिसियाविरुद्ध भने वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका उनले गोल गर्न सकेनन् । फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई ३–१ ले पराजित गर्दा एमबाप्पेले दुई गोल गरे ।

तर, क्वार्टरफाइनलमा फ्रान्सले इङ्ल्याण्डलाई हराउँदा भने उनले गोल गर्न सकेनन् । हाल गोल्डेन बुटको दाबेदारीमा दोस्रो स्थानमा रहेका एम्बाप्पेले लिओनल मेस्सीभन्दा थोरै मिनेट खेलेका कारण पनि गोल्डेन बुट होडमा दाबेदारको रूपमा छन् ।