भद्रपुर । झापा भद्रपुर नगरपालिका–८ को मेची रङ्गशालाले पुनर्जीवन पाउने भएको छ ।

भद्रपुर गोल्डकप गर्ने तयारी थालिएपछि यस रङ्गशालाले जीवन पाउन लागेको हो । भद्रपुर नगरपालिकाको संरक्षणमा पहिलो पटक ‘ए’ डिभिजन क्लबहरूको सहभागितामा भद्रपुर गोल्डकपको तयारी गरिएको छ । सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि गोल्डकप सञ्चालनमा आउन लागेको हो ।

झार सुकेको खेलमैदानमा नयाँ झार रोप्ने कार्य भइरहेको छ । पार्किङका लागि आवश्यक ठाउँसमेत तयारी गरिँदै छ । नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको भद्रपुर गोल्डकपलाई सफलतापूर्वक आयोजना गर्न केही दिनअघि नगरपालिकामा सर्वपक्षीय बृहत् छलफल गरिएको थियो ।

छलफलबाट युवा उद्योगी दीपेश ढकालको अध्यक्षतामा भद्रपुर गोल्डकप मूल आयोजक समिति गठन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा आदित्य पराजुली, महासचिवमा जीवनकुमार श्रेष्ठ, सचिवमा टहलदास मैनाली, कोषाध्यक्षमा गणेश राजभण्डारी र सह–कोषाध्यक्ष अजय साहेवाला चयन भए ।

त्यस्तै सदस्यहरूमा कुमार श्रेष्ठ, अनिल सुब्बा, योगेन्द्र पौडेल, पुनम सुब्बा, कविता गुरुङ, दिलिप भुइमाली, टेकमान गुरुङ र गम्भीर राई चयन भएका थिए ।

त्यस्तै सल्लाहकार समितिमा ओमप्रकाश सरावगी, चण्डीराज ढकाल, विज्ञानराज शर्मा, टिकाराज ढकाल, विनोद बस्नेत, विमल आचार्य, केशवराज पाण्डे, दीनबन्धु गोयल, वसन्त बानियाँ, धर्म सिवाकोटी, प्रशान्त भण्डारी, यामबहादुर श्रेष्ठ र नवराज पनेरू रहेका छन् ।

मेची रङ्गशालामा पहिला जिल्लास्तरीय ठूला प्रतियोगिता हुने गरेका थिए । पछिल्लो समयमा जिल्लामा हुने ठूला प्रतियोगिताहरू अन्यत्र सार्न थालेपछि सरकारी स्वामित्वमा रहेको रङ्गशालालाई ओझेलमा पार्ने काम हुन थालेको भद्रपुर नगरप्रमुख गणेश पोखरेलले बताए ।  रङ्गशालालाई पुनर्जीवन दिने उद्देश्यले गोल्डकप आयोजना गर्न लागिएको उनको भनाइ छ ।

गोल्डकपले नगर क्षेत्रभित्रका फुटबल खेलाडी उत्पादनलाई समेत प्रोत्साहन गर्ने उनको भनाइ छ । नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपसहित खेलकुद क्षेत्रका लागि ३० लाख बजेट छुट्याएको छ । गोल्डकपका लागि त्यसबाट कति बजेट निकासा गर्ने त्यो कार्यपालिका बैठकले निर्णय गर्ने जनाइएको छ । एन्फासँग स्वीकृति लिएर गोल्डकप सञ्चालन गर्नुपर्ने भएकोले सम्भवतः फागुन महिनाभित्र प्रतियोगिताको आयोजना गर्ने लक्ष्य राखिएको समितिका अध्यक्ष ढकालले जानकारी दिए ।

महासचिव जीवनकुमार श्रेष्ठको नेतृत्वमा आइतबारबाट सचिवालय सञ्चालनमा आएको उनले जानकारी दिए । वि.सं.२०६१ सालमा भएको त्रिभुवन गोल्डकपपछि चन्द्रगढीमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुन सकेको थिएन । स्थानीय खेलाडीले प्रशिक्षण गर्दा मैदान जीर्ण बनेकाले पुनर्निर्माण सुरु गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।

फुटबल प्रतियोगिता सञ्चालन नहुँदा झापाको पुरानो र एक मात्र स्थायी रङ्गशाला प्रयोगविहीन बन्दै गएको थियो । ओझेलमा पर्दै आइरहेको मेची रङ्गशालालाई पुनर्जीवन दिने उद्देश्यले भद्रपुर गोल्डकप सञ्चालन हुने भएको अध्यक्ष ढकालले बताए । भद्रपुर नगरपालिकाको संरक्षणमा पहिलोपटक हुन लागेको भद्रपुर झापा गोल्डकपमा ‘ए’ डिभिजन क्लबसहित विदेशी टोलीको सहभागिता रहनेछ ।

फागुन दोस्रो साता हुने भद्रपुर झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ६ लाख रुपैयाँ पाउने महासचिव श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । मूल आयोजक समितिले प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमितिहरू पनि निर्माण गरिरहेको छ ।