धरान । सूर्य नेपाल इस्टर्न ओपनमा नयाँ रेकर्डसहित नेपालका नम्बर वान घरेलु गल्फर शुक्रबहादुर राई उपाधि जित्न सफल भएका छन् ।

पार ७० को धरान गल्फ कोर्षमा १७ अन्डर १ सय ९३ को कोर्ष रेडर्क कायम गर्दै उनले सूर्य नेपाल गल्फ टुर २०२२÷०२३ को उपाधि जिते । उनले सन् २०२० मा घरेलु प्रो. बलभद्र राईले बनाएको ९ अन्डर २ सय १ स्कोर कार्डको रेकर्डलाई पनि ब्रेक गरेका छन् । उनले अन्तिम १८ होलमा पनि बोगीरहित खेले । च्याम्पियन बनेका उनले नगद १ लाख ४० हजार रुपैयाँसहित ट्रफी पाए । ५४ होल पूरा गर्दा उनले अन्तिम दिन ७ अन्डर ६३ को उत्कृष्ट स्कोर कार्ड बनाउँदै १७ अन्डर १ सय ९३ को शानदार स्कोर कार्ड खडा गरे ।

अन्तिम १८ होलमा शुक्रले बोगीरहित खेल खेले । ‘आज सबैभन्दा राम्रो पटिङ भयो, वेजेजहरू राम्रो हाने । ५२ डिग्री, ६० डिग्रीको वेजेजहरू राम्रो भयो’ उनले भने, ‘धरानको हार्ड कोर्ष भए पनि यो पालिचाहिँ रफरहरू क्लियर थियो ।’ उनले फ्रन्ट नाइनको तेस्रो, सातौँ, नवौँ होलमा बर्डी गर्दा ब्याक नाइनको १० औँ, १५ औँ, १६ औँ र १८ औँ होलमा बर्डी हाने ।

‘आज ड्राइभर एभरेज भयो, राम्रो भएन । रफबाट लङ पट पनि राम्रो भयो’–उनले भने । उनले धरानकै निरज तामाङलाई ८ स्ट्रोकले पछि पार्दै उपाधिमाथि कब्जा जमाए । पहिलो दिन निरज एक स्ट्रोकले अगाडि हुँदा दोस्रो दिन चार स्ट्रोकले पछि परेका थिए । ९ अन्डरसहित २ सय एक स्कोर कार्ड बनाएका निरज दोस्रो बन्दै नगद ९० हजार रुपैयाँ पाए । अन्तिम १८ होलमा २ अन्डर ६८ कार्ड बनाएका सेन्ट्रल ओपन विजेता भूवन नगरकोटी समग्रमा ५ अन्डर २ सय ५ स्कोर कार्ड बनाउँदै तेस्रो भए । उनले ६७ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

अन्तिम दिन लेभल पार ७० खेलेको सञ्जय लामाले समग्रमा ४ अन्डर २ सय ६ स्कोर बनाउँदै चौथोमा सीमित भए । उनले नगद ५५ हजार रुपैयाँ पुरस्कार पाए । अन्तिम दिन १ अन्डरमा खेल सके पनि समग्रमा एक ओभर २ सय ११ खेलेका रामे मगर पाँचौँ हुँदै नगद ४७ हजार रुपैयाँ पाए । ५४ होलको समाप्तिमा २ ओभर २ सय १२ स्कोर कार्ड बनाएका धनबहादुर थापा र जयराम श्रेष्ठ संयुक्त रूपमा छैठौँ भए । टाइ भएका उनीहरूले नगद ३८ हजार ७ सय ५० रुपैयाँ नगद पुरस्कार पाए ।

दिनेश प्रजापति आठौँ हुँदा स्थानीय गल्फर बलभद्र राई नवौँ स्थानमा सीमित रहे । उनले कुल ५ ओभर २ सय १५ स्कोर बनाए । यसैगरी सूर्यप्रसाद शर्मा दशौँ स्थानमा समेटिए ।

एमेच्योरतर्फ लेभल पार २ सय १० खेलेका राजकुमार राईले उपाधि जिते । उनले अब व्यावसायिक खेलका लागि आवेदन दिन पाउने अवसर पाएका छन् । राजकुमारले अन्तिम दिन २ ओभर ७२ खेले पनि समग्रमा पाँचौँ नम्बरमा आएका थिए । उनले अर्का एमेच्योर खेलाडी युवराज भुजेललाई ३ स्ट्रोकले हराउन सफल भए । युवराजले अन्तिम दिन १ अन्डर ६९ सहित कुल ३ ओभर २ सय १३ मा खेल पूरा गरे ।

निरजले पहिलो होलमा बोगी खेपे पनि तेस्रो, पाँचौँ, छैठौँ र नवौँ होलमा एक–एक सट बचाउँदै फ्रन्ट नाइन ३ अन्डर ३३ मा पूरा गरे । यसपछि १५ औं र १८ औं होलमा बोगीको सामना गरे भने ११ औं र १५ औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन इभन पार ३४ मा पूरा गरे । भूवनले फ्रन्ट नाइन २ अन्डर ३४ मा सकाउने क्रममा पहिलो होलमा बोगी खेपे पनि पाँचौँ होलमा इगल र छैठौँ होलमा बर्डीको सफलता प्राप्त गरे ।

यसपछि १० औं र १२ औं होलमा बोगी प्रहार गरे भने १५ औं र १६ औं होलमा एक–एक सट बचाएर ब्याक नाइन इभन पार ३४ मा सकाए । विजेता खेलाडीहरूलाई सूर्य नेपाल प्राइभेट लिमिटेडका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, रिजनल म्यानेजर दामोदर शर्मा, धरान गल्फ सङ्घका सचिव भरत तामाङ र कार्यकारी सदस्य जगमोहन राईले पुरस्कार वितरण गरेका थिए ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपाल प्राइभेट लिमिटेडको प्रायोजनमा २९ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा कुल आठ लाख पुरस्कार राशि रहेको थियो । आज (शुक्रबार) प्रो–एम खेल हुँदैछ ।