धरान । किराती समुदायको नयाँ वर्ष यलेदोङको अवसरमा आयोजित थ्रीबाइथ्री खुला महिला बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा अलस्टारले जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा बिर्तामोड झापाको टिमलाई १३–३ अङ्कले पराजित गर्दै नगद ७ हजार रुपैयाँसहित ट्रफी पाएको छ । धरान बास्केटबल सङ्घको आयोजनामा जारी दुई दिवसीय प्रतियोगितामा उपविजेता झापा टिमले नगद ३ हजार ५ सय रुपैयाँसहित ट्रफी पाएको छ ।
प्रतियोगितामा मोस्ट भ्यालुएवल खेलाडी धरान मेघाका डा. आशा राई घोषित हुँदै नगद १ हजार ५ सय रुपैयाँ पाइन् । विजेता टिमलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राईलगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा १८ वटा टिम सहभागी थिए ।
झापा, इलाम, मोरङ र सुनसरीका महिला टिमहरू सहभागी रहेको बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईले बताए । यलेदोङ किराती समुदायको नयाँ वर्ष हो । ५०८३ वर्ष प्रवेशको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।