भद्रपुर । स्थानीय फुटबल खेलाडीलाई मध्यनजर गर्दै झापाको भद्रपुरमा निर्मल बान्तवा स्मृति फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
कलबलगुरी समाज भद्रपुर–१०को आयोजनामा यही माघ ७ गतेदेखि प्रतियोगिता सञ्चालन हुने भएको हो । आयोजक समितिले सोमबार पत्रकार सम्मेलनमार्फत् प्रतियोगिताको बारेमा जानकारी गराएको थियो ।
कलबलगुरी एउटा ऐतिहासिक क्षेत्रमात्र नभई जीवनभर फुटबल खेलमा नै रहेर राष्ट्रियस्तरसम्म पुगेका बान्तवाको सम्झनामा यो पटक जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएकोे आयोेजक समितिका अध्यक्ष बाबुराम पराजुलीले बताए । देशमा हुने विभिन्न ठूला खेलहरूमा सहभागी हुनलाई समेत यो प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ । बेरोजगारीका कारण कुलतमा जाँदै गरेका युवाहरूलाई समेत यो प्रतियोगिताले थप टेवा पुग्ने उनले जनाए ।
प्रतियोगितामा झापाका ८ वटा टिमले सहभागिता जनाउने टिम व्यवस्थापन समितिका संयोजक तथा फुटबल कोच मित्र बस्नेतले जानकारी दिए । उनले दिएको जानकारीअनुसार उद्घाटन खेलमा आयोजक कलबलगुरी समाज र दमक ट्रेनिङ सेन्टर, दोस्रो दिन शनिश्चरे एफसी र जलथल एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी ९ गते सैनिक एफसी र केके एफसी पृथ्वीनगरबीच हुनेछ भने बिर्तामोड युनाइटेड एफसी र काँकडभिट्टा ट्रेनिङ सेन्टरबीच हुने जनाइएको छ । ११ गते सेमिफाइनल र १४ गते फाइनल खेल हुनेछ ।
प्रतियोगितमा विजेताले १ लाख ५१ हजार र उपविजेताले ७५ हजार नगदसहित ट्रफी पाउनेछन् । आयोजकले उत्कृष्ट खेलाडी, गोलरक्षक, फेयर प्लेले नगद तथा ट्रफी पाउने जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि खेलाडी पुरस्कार, टिम व्यवस्थापन, खेलमैदान मर्मत, म्यान अफ द सिरिज र म्याच, खेलकुद सामग्रीलगायत गरी अनुमानित ७ लाख रुपैयाँ खर्च हुने जनाइएको छ । भद्रपुर नगरपालिका, विभिन्न सङ्घ–संस्था, उद्योगी व्यवसायी, खेलप्रेमी, बान्तवा परिवारलगायतबाट आर्थिक सङ्कलन हँुदै गरेको आयोजक समितिका सचिव सरोज काफ्लेले जानकारी दिए ।
कार्यक्रममा स्वर्गीय बान्तवाका दाजु निसान्त बान्तवाले प्रतियोगिता सञ्चालनका लागि १ लाख ५१ हजार बराबरको चेक आयोजक समितिलाई हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा लोगो र जर्सीसमेत सार्वजनिक गरिएको थियो ।
अध्यक्ष पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा झापा फुटबल सङ्घका अध्यक्ष भगिरथ आलेले स्वर्गीय बान्तवाको योगदानका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय फुटबल खेलाडी कर्ण लिम्बू, अन्तर्राष्ट्रिय एथलेटिक्स खेलाडी कुमार श्रेष्ठलगायत खेलाडीहरूको सहभागिता रहेको थियो ।