धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले धरान इटहरीको सिमाना  छुट्याउन राखेको 'सिमा प्रारम्भ' बोर्ड राष्ट्रिय युवा सङ्घले निकालिदिएको छ ।

 नगरप्रमुख साम्पाङले चारकोशे झाडीको पानीपियामा राखेको उक्त बोर्डलाई युवा सङ्घ इटहरी नगर कमिटीले आइतबार राती हटाएको हो ।   युवा सङ्घ इटहरी नगर कमिटी अध्यक्ष कमलबाबु दाहालले छलफल र संवाद विना धरानका नगरप्रमुख साम्पाङले एकलौटी ढङ्गले बोर्ड राख्नु  अपत्तिजनक भएको भन्दै उक्त बोर्ड त्यहाँबाट हटाइएको बताएका छन् । 


 नगर प्रमुख साम्पाङले राखेको उक्त बोर्डका बारेमा आफू जानकार नभएको भन्दै इटहरी उपमहानगर वडा नम्बर २० का अध्यक्ष मणिराम श्रेष्ठले भोगाधिकारका आधारमा तत्कालीन हाँसपोसा गाउँ विकास समितिले उपभोग गर्दै आएको र सिमाना कहाँबाट भन्ने प्रस्ट नरहेको  बताएका छन् । उनले सीमा विवाद कायमै रहेकोले धरान उपमहानगरपालिको यसरी बोर्ड राख्न नहुने  बताएका छन् ।

युवा सङ्घले बोर्ड हटाएपछि नगरप्रमुख साम्पाङले बोर्ड हटाउनेहरू प्रति कानुनी कारबाही अगाडी बढाउने बताएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्  ‘धरानले आफ्नो साँध सिमाना सुनिश्चित गर्दा युवा सङ्घ तरहराले बोर्ड निकाल्नु पर्ने किन र कुन हैसियतले त्यो गरेको हो ? अब कानुनी कारबाही अघि बढ्छ ।’

पानीपिया क्षेत्र वन तथा पानीको स्रोत  भएकोले दुवै पालिकाले त्यस क्षेत्रमा चासो रहँदै आएको छ ।