काठमाडौँ/जिल्ला अदालत काठमाडैँमा आजदेखि पारिवारिक इजलासको सुरु भएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले  पारिवारिक इजलासको शुभारम्भ गरेका छन्। 

प्रधानन्यायाधीश श्रेष्ठले आफू प्रधानन्यायाधीश बन्दै गर्दा संसदीय सुनुवाइमै जिल्ला अदालत काठमाडौँमा पारिवारिक इजलासको सुरूवात गर्ने र आवश्यकता अन्य अदालतमा विस्तार गर्ने योजना अघि सारेअनुसार नै इजलास गठन सुरु गरिएको बताका छन्।

“न्यायिक इतिहासमा पहिलो पटक पारिवारिक इजलास सुरूवात गरिएको छ”, उनले भने,“यो इजलासमा बालबालिका र महिलावादी मुद्दाको छिटोछरितो रूपमा न्याय निरूपण हुनेछ।”उनले इजलास सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

प्रधानन्यायाधीश श्रेष्ठले महिलाले अङ्श पाउने मुद्दामा इजलासले द्रुत सेवा दिने र यो इजलास आगामी दिनमा भक्तपुर र ललितपुरमा विस्तार गरिने जानकारी दिएका छन्। सुरूमा नियमितरूपमा दुई वटा इजलास सञ्चालन हुने उनको भनाइ छ । न्यायपालिकाको चौँथो पञ्चवर्षीय रणनीतिक योजनाअनुसार न्यायमा पहुँच सुनिश्चित गर्न,छिटोछरितो तथा गुणस्तरीय न्याय सम्पादन गर्न र न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धिका लाग उक्त इजलास गठन गरिएको हो । 

प्रधानन्यायाधीश श्रेष्ठको कार्ययोजनाको अवधारणा र कार्ययोजना अनुरूप सर्वोच्च अदालत मुद्दा व्यवस्थापन समितिको निर्णयानुसार परिवारिक इजलासबाट हाललाई अंश, नाता कायम,घरेलु हिंसा र बालबालिकाको संरक्षक भई दायर भएका अंश, विशेष हेरचाहलगायत बालबालिकाको हितसँग सम्बन्धित देवानी प्रकृतिका मुद्दाको सुनुवाइ हुनेछ ।