धरान । सर्लाही जिल्ला अदालतले आफूलाई तपस्वी बताउँदै आएका रामबहादुर बम्जनलाई बालयौन दुराचारको मुद्दामा दोषी ठहर गरेको छ । 

आरोपी बमजनमाथि चारजनालाई बेपत्ता बनाएको, एकजनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसामा उजुरी परेको थियो । सोही आरोपमा उनीमाथि मुद्दा चलेको थियो । सोमबार जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले दोषी ठकर गरेको अदालतले जनाएको छ । दोषी ठहर भए पनि सजायका लागि यही असार १७ गते पेसी तोक्न आदेश दिएको छ । उनीमाथि सरकारी अभियोजनकर्ताहरुले १२ देखि १४ वर्षको जेलसजायको माग गरेका छन् । 

उनीविरुद्ध गत पुसमा यौन हिंसा, हत्या र बेपत्ता पारेको लगायत विषयमा मुद्दा परेका कारण पक्राउ गरेको थियो । त्यसबेला उनी बसेको घरमा तीन करोड रुपैयाँ र केही विदेशी मुद्रा पनि फेला परेको थियो । उनलाई मानिसहरुले सन् २००५ ताका बाराको एउटा जंगलको ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेको अवस्थामा फेला परेका थिए । त्यसबेला उनको उमेर १६ वर्षको हाराहारीमा रहेको थियो । तर उनी पछि विभिन्न विवाद मुछिदै आएका थिए । 

सिन्धुपाल्चोक बाँडेगाउँस्थित उनको आश्रममा केही ‘अनुयायी’हरु त्यहाँबाट नफर्किएको भन्ने विवरणसहितको जानकारी पाँच वर्षअघि जिल्ला प्रहरी कार्यालयहरुमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीले छानबिन गरेको थियो । २०७१ साल चैत १४ गतेदेखि सम्पर्कविहीन बनेपछि एक परिवारले प्रहरीमा बम्जनविरुद्ध किटानी जाहेरी दिएको थियो । सोही आधारमा शिलबन्दी गरी आश्रमको अनुसन्धान थालिएको थियो । 

बारा निवासी बम्जन ध्यानमा रहेका कारण अधिक चर्चा कमाएका थिए । कतिपयले उनलाई लिटल बुद्धको नामले प्रचार पनि गरेका थिए । तपस्या गर्ने क्रममा उनी बीचबीचमा हराउँदै फेला पर्दै आएका थिए । उनी नेपालमा मात्रै नभई विश्वभरि नै चर्चा कमाएका थिए । त्यसबेला मिडियाहरुले उनको बारेमा विभिन्न सामग्रीहरु प्रचारप्रसार गरेको थियो । प्रहरीले उनीसँगबाट बरामद भएको तीन करोड रुपैयाँ र केही विदेशी मुद्राको विषयमा भने स्रोतको खोजी भइरहेको जनाएको छ ।